दलित भन्ने थाहा पाएपछि परिवारै मिलेर गरे बुहारीको हत्या



उदयपुरको कटारी नगरपालिकामा दलित भएको थाहा पाएपछि परिवार मिलेर बुहारीको हत्या गरेको रहस्य खुलेको छ ।

कटारी नगरपालिका–४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारका १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको खुलेको हो । २०७४ कात्तिक १४ गते मा सिम्लेस्थित जंगलमा सडेको अवस्थामा शव फेला परेको थियो । लामो अनुसन्धानपश्चात प्रहरीले हत्या भएको भन्दै गत २२ मंसिरमा देवर सुजन कार्कीलाई पक्राउ गरेको थियो ।

त्यसपछि बुवा नैनबहादुर र दाजु मृतकका श्रीमान युवराज कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले अनुसन्धानका क्रममा युवराजले विवाह गरी ल्याएका संगिता विश्वकर्मा दलित रहेको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको पाइएको बताए ।

फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज र संगिताले भागी बिवाह गरेका थिए । पक्राउ गरेका तीनै जनालाई जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्