अवैध लागूऔषध सहित पाँच जना पक्राउ



काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ६ बस्ने झापा कमल गाउँपालिका ५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावती र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ ठेगाना भएका २० वर्षीय आशिष थापा रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका ८ बाट आशिष थापालाई ३ ग्राम लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेर थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका ६ महांकाल पानीट्याङ्कीबाट लावतीलाई साथमा रहेको लागूऔषध खैरो हेरोइन ५ ग्राम र डेराकोठामा राखेको थप २ सय १६ ग्राम खैरो हेरोइन फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्दा कारको डिकीमा लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई कार सहित नियन्त्रणमा लिएको हो ।

धादिङ, थाक्रे गाउँपालिका ७ हाप्सेचौरस्थित त्रिभुवन राजपथबाट करिब ४ सय ग्राम चरेश सहित मकवानपुर थाहा नगरपालिका ६ बस्ने १७ वर्षीय अनिष मिजारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले मकवानपुर काठमाडौतर्फ आउँदै गरेको बा।२ ख ४९७२ नम्बरको बसलाई जाँच गर्ने क्रममा मिजारलाई ह्याण्ड ब्यागभित्र लुकाईछिपाई ल्याएको उक्त चरेश सहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्