चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप



काठमाडौं । विराटनगरस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले मेडिकल कलेजको सम्बन्धन माग्दा गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री गरिराजमणि पोखरेललाई बुझाउनुपर्ने भन्दै गिरीले रकम मागेको प्रसाईंले दाबी गरे । ‘१५ मंसिरमा मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिन आयोग गएको थिएँ । तर, आयोगमा उपाध्यक्ष गिरीले निवेदन लिन अस्वीकार गर्नुभयो, साँझ द्वारिका होटेलमा आउन भन्नुभयो,’ पत्रकार सम्मेलनमा प्रसाईंले भने, ‘सोही साँझ राजधानीको द्वारिका होटेलमा उहाँसँग भेट भयो ।

भेटमा गिरीले आफू नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलको मान्छे भएको र उहाँहरूलाई रकम बुझाउनुपर्ने भन्दै २० करोड प्रस्ताव गर्नुभयो । मैले १०–२० लाख दिन सक्ने भए पनि सम्पत्ति शुद्धीकरणका कारण यति धेरै पैसा दिन नसक्ने बताएँ ।’ २० करोड नदिने भए १० प्रतिशत सेयर झापामा रहेका आफ्ना सम्धीको नाममा गरिदिन गिरीले प्रस्ताव गरेकोसमेत उनको आरोप छ ।

तर, घुस मागेको कुनै प्रमाण भने आफूसँग नरहेको प्रसाईंले बताए । ‘मसँग घुस मागेको अडियो, भिडियो भने केही पनि छैन,’ प्रसाईंले भने, ‘कहाँ र कसरी कुरा भयो भन्नेबारे म सबैका अगाडि बसेर कुरा गर्न सक्छु । घुस मागेको होइन भनेर मसँग फेस गर्न पनि गिरीलाई म चुनौती दिन्छु ।’

चिकित्सा शिक्षा आयोग बनेपछि बी एन्ड सी कलेजको सम्बन्धन अघि बढाउन बाटो खुले पनि अवरोध गरेर घुस माग्नु आश्चर्य भएको उनले बताए । सरकारले चिकित्सा शिक्षा ऐन जारी गर्दा उपत्यकाबाहिर मेडिकल कलेज खोल्न सकिने व्यवस्था गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्