रसुवागढी नाका हुँदै चिनियाँ ३१ हजार पर्यटक नेपाल भित्रिए




चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सन् २०१९ मा ३१ हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ३१ हजार एक सय ३५ पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहेको छ ।

यो संख्या नाका सञ्चालन भएयताको सबैभन्दा बढी हो । पछिल्लो समय नाकाबाट पर्यटक भित्रने क्रम बढेको अध्यागमन कार्यालय रसुवाका सूचना अधिकारी गणेश भण्डारीले बताउनुभएको छ । नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको हो ।

रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् । केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटकले चाहीँ नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ । रसुवागढी नाकाबाट ५२ देशका पर्यटक नेपाल आएका छन् ।

चीन, सार्क राष्ट्रका अफगानिस्तानबाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका हुन् । नाकाबाट सन् २०१९ को जनवरीमा आठ सय ४२, फेब्रुअरीमा चार सय ४०, मार्चमा ६ सय ८५, अप्रिलमा एक हजार चार सय ९१, मेमा तीन हजार पाँच सय ३७, जुनमा ६ हजार ७५ पर्यटक भित्रिएका थिए । यस्तै जुलाइमा चार हजार चार सय चार र अगस्टमा पाँच हजार तीन सय ७५, सेप्टेम्बरमा चार हजार तीन सय ३३, अक्टोबरमा दुई हजार एक सय ३१, नोभेम्बरमा एक हजार दुई सय चार र डिसेम्बरमा ६ सय १८ चिनियाँ तथा विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङले देखाएको छ ।

नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्