स्पेनमा नेपाली कामदारका लागि रोजगारीको सहज व्यवस्था हुनुपर्छ : रक्षामन्त्री यादव



काठमाडौं : श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले स्पेनमा नेपाली कामदारका लागि रोजगारीको सहज व्यवस्था गर्न आग्रह गरेका छन् । स्पेन सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री र लुम्बिनी गार्डन फाउन्डेसनका अध्यक्षसहितको उच्चस्तरीय टोलीसँगको बिहीबारको भेटमा श्रममन्त्री यादवले उक्त आग्रह गरेका हुन् ।

संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार नगएपनि गतवर्ष व्यक्तिगत रुपमा ५२ जना नेपाली रोजगारीका लागि स्पेन गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । स्पेनको पर्यटन तथा कृषि क्षेत्रमा आप्रवासी कामदारको माग रहेको छ । तर नेपाल आउने डिमाण्ड प्रमाणीकरणमा समस्या रहेका कारण वैदेशिक रोजगार व्यवसायीहरु उक्त मुलुकको रोजगारी प्रति आकर्षित हुन नसकेको बताउँदै आएका छन् ।

पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वको टोली नेपालमा रहेको छ । बिहीबवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री यादवले स्पेनसँग सहकार्य गर्न नेपाल आतुर रहेको बताउँदै स्पेनसँग श्रम सम्झौता गरी नेपाली कामदारलाई रोजगारीको सहज व्यवस्था गर्न चाहेको बताएको मन्त्री यादवको सचिवायलयले जनाएको छ ।

उच्चस्तरीय टोली मार्फत स्पेनी समकक्षीलाई कामदार आदान प्रदानका विषयमा श्रम सझौताका लागि नेपाल आउन निमन्त्रणा पठाउँदै मन्त्री यादवले सरल र ईमान्दार नेपाली श्रमिकले स्पेनको अर्थतन्त्रमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै कृषि प्रधान देश नेपालका कृषि श्रमिकलाई स्पेनमा तालिम तथा प्रशिक्षण दिई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिँदै कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा निकै संभावना रहेकोले सो क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

स्पेनी पर्यटनमन्त्री रेन्डोन्डोले नेपाल सरकारले देखाएको सद्भाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै स्पेनमा नेपाली श्रमिकलाई रोजगारी दिलाउन पहल गर्ने आश्वासन दिए । उनले निकट भजिश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरेको मन्त्री यादवको सचिवालयले बताएको छ ।

विगत ५ दशकदेखि नेपाल र स्पेनको मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै मन्त्री यादवले नेपाल भ्रमण बर्ष २०२० को सफलताका लागि सद्भाव र सहकार्यका लागि आभार समेत गरेका छन् ।

उच्चस्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका पर्यटनमन्त्री नुरियालगायत उच्च अधिकारी, लुम्बिनी गार्डन फाउन्डेशनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा फाउन्डेशनका सचिव एकराज गिरी लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्