मोटरसाइकलमा पिछा गर्दै पेस्तोल देखाएर लुटियो पाँच लाख !



काठमाडौं । महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा शुक्रबार साँझ दुई जनाले एक कर्मचारीका साथबाट रु पाँच लाख लुटपाट गरेका छन् ।

बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरुले रु पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीलाई मोटरसाइकल चढेर पिछा गरेकी ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए ।

चौधरी को२८प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन । “अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो । घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्