किन जान्छ झ्याप झ्याप बत्ती ? सव–स्टेसन थप्दै प्राधिकरण



काठमाडौं । महिना दिन अघि काठमाडौं सुकेधारा आदर्शनगरमा केही दिनसम्म बत्ती नै आएन । समस्या ट्रान्सफर्मरले लोड धानेन । प्राधिकरणले ट्रान्सफर्मर थप्ने स्थान खोज्यो । स्थानीयले आफ्नो घरअगाडि राख्न दिएनन् । प्राधिकरण स्थानीय निकाय गुहार्न बाध्य भयो । सार्वजनिक जग्गामा राख्न खोज्दा पनि सरकारी जग्गा हो–होइन को विवादमै अल्झिएको नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।

यो एउटा प्रतिनिधि घटना हो । यस्ता घटनाले विद्युत्को माग र आपूर्तिमा व्यवधान खडा भएको प्राधिकरणको भनाइ छ । २०७४ अघिसम्म लोडसेडिङले आजित बनेका सर्वसाधारण पछिल्लो समय झ्याप झ्याप बत्ती जाने समस्याबाट हैरान छन् । झ्याप झ्याप बत्ती जाने र आउने क्रममा दुर्घटनासमेत भएका छन् । भलै ती दुर्घटनाले हालसम्म ज्यूधनको क्षति भने गरेको छैन, तर मानिसलाई त्रसित बनाएको छ । केही दिनअघि चापागाउँ क्षेत्रमा विद्युत्को लोड ह्वात्तै बढेर आउँदा त्यस क्षेत्रका केही घरमा बिजुली सर्ट भयो र विद्युतीय उपकरणमा क्षति पुग्यो । यो समस्या पनि ट्रान्सफर्मरकै कारण भएको प्राधिकरणको भनाइ छ ।

किन जान्छ झ्याप झ्याप बत्ती ?

न्यौपानेका अनुसार विद्युत्को माग बढी हुँदा ट्रान्सफर्मर र सव–स्टेसनमा बढी भार परेर यस्तो भएको हो । यो समस्या हटाउन ट्रान्सफर्मर र सव स्टेसनको संख्या बढाएर लोड घटाउनुपर्ने उनले बताए । वाग्मती क्षेत्रमा मात्रै अझै करिब ५ हजार ट्रान्सफर्मर जडान गर्नुपर्ने उनले बताए । गत वर्ष ३ हजार र यो वर्षको हालसम्म २ हजार गरी ५ हजार ट्रान्सफर्मर थपिसकेको प्राधिकरणले जनाएको छ । अझै ५ हजार थप्नुपर्ने उनले बताए ।

विद्युत् धेरै समयसम्म गएपछि केही क्षेत्रमा ट्रान्सफर्मर थप्न सकिए पनि केही क्षेत्रमा अझै स्थानीयको सहयोग नपाएको गुनासो प्राधिकरणले गरेको छ । उपकार्यकारी निर्देशक न्यौपानेले भने समस्या आएपछि समाधानका लागि ट्रान्सफर्मर थप्न खोज्यो, स्थानीयले आफ्नो घर अगाडि राख्न दिँदैनन् । उनले बाह्रखरीसँग भने, “बिजुली पनि चाहिएको छ सहयोग गर्न पनि स्थानीय तयार हुँदैनन् । हाम्रो विकल्प भनेको नै ट्रान्सर्फमर थप्नु हो नत्र यो समस्या समाधान हुँदैन ।” उनले यसका लागि सर्वसाधारण एवं स्थानीय निकायले सहयोग गर्नुपर्ने बताए ।

बढ्यो विद्युत्को माग

प्राधिकरणले पछिल्लो समय विद्युत्को माग पनि बढेको जनाएको छ । काठमाडौं उपत्यका–बनेपा क्षेत्रमा गत वर्षको तुलनामा करिब १ सय २५ मेगावाटले विद्युत्को माग बढेको छ । उपकार्यकारी निर्देशक न्यौपानेले गत वर्ष ३ सय २५ मेगावाट विद्युत् माग रहेकोमा यस वर्ष ४ सय ५० मेगावाटसम्म पुगेको बताए । उनले भने, “त्यसैले ट्रान्सफर्मर र सव–स्टेसनको संख्या पनि बढाउनुपर्ने आवश्यकता छ । त्यसका लागि सर्वसाधारण एवं स्थानीय निकायको सहयोग आवश्यक छ ।” मुलुकभर करिब १ हजार ३ सय ५० मेगावाट विद्युत्को माग छ ।

सव–स्टेसन थप्दै प्राधिकरण

विद्युत्को भार बढ्दै गएपछि प्राधिकरणले सव–स्टेसन थप्न लागेको जनाएको छ । प्राधिकरणले चापागाँउ, हरिसिद्धि, चोभार, मूलपानी, धर्मस्थली, थिमीमा सव–स्टेसन थप्न खोजिरहेको छ । यस्तै कोटेश्वरमा पनि राख्न जग्गा खोजिरहेको प्राधिकरणले जनाएको छ । जग्गाका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिरहेको न्यौपानेले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्