प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर



रमेश विश्वकर्मा,गुल्मी/ जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सहजताका लागि ग्लोबल आईएमई बैंकको ३७ औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ ।

काउन्टरको शुक्रबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले उद्घाटन गरेका हुन् । काउन्टरको उद्घाटन गर्दै प्रजिअ निरौलाले राजस्व संकलनमा छिटोछरितो गरी सेवाग्राहीको सहजताको लागि एक्स्टेन्सन काउन्टरले महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले राहदानी शुल्क, अन्य प्रशासनिक सेवा शुल्क, न्यायिक, दण्ड जरिवाना जफत, शुल्क, प्रशासनिक दण्ड जरिवाना जफत शुल्क, बेरुजु शुल्क, हातहतियार इजाजतपत्र शुल्क लगायतका राजस्व संकलनमा काउन्टर सञ्चालनले सहयोगी भूमिका खेल्ने धारणा व्यक्त गरे । कर्मचारीको तलब लगायत अन्य सम्पूर्ण कामको भुक्तानी बैंक मार्फत गर्नुपर्ने भएकाले एक्स्टेन्सन काउन्टर राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

बैंकिङ प्रणालीसंग आवद्ध गरी नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्ने उनले जानकारी दिए । प्रजिअ निरौलाले भने ‘कर्मचारीलाई पनि बैंकिङ्ग काम गर्दा सजिलो होस् भनेर काउन्टर खोलिएको हो ।’ कार्यालय परिसरमै बैंक भयो भने सबै आर्थिक सम्बन्धी काम गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे ।

सेवा प्रवाहमा सहजता ल्याउनका लागि बैंकिङ्ग प्रणाली प्रति सबै नागरिकलाई आवद्ध गराउने कार्यालयले जनाएको छ । पहिले राहदानी सहित अन्य राजस्व प्रशासन कार्यालयमा बुझ्ने गरिन्थ्यो, तर अहिले कार्यालय परिसरमा नै काउण्टर खोलेपछि सेवाग्राहीहरुले धेरै राहत पाउने प्रजिअ निरौलाले बताए ।

कार्यालयबाट उठ्ने सम्पूर्ण राजस्व संकलन गर्नको लागि कार्यालय परिसरमै बैंकको एक्स्टेन्सन काउन्टर राखिएको बैंक तम्घासका शाखा प्रवन्धक योगेन्द्र रायमाझीले बताए । काउन्टरबाट सेवाग्राहीले सम्पूर्ण सेवा सुविधा छिटोछरितो उपलब्ध गराउने प्रवन्धक रायमाझीले प्रतिवद्धता व्यक्त गरे ।

बैंकका अन्य ग्राहकहरुले पनि यो काउन्टरबाट सबै सेवा सुविधा पाउन सक्ने छन् । ग्राहकहरुले रकम जम्मा गर्ने, चेक सटही गर्ने, नयाँ खाता खोल्ने, नयाँ चेक बनाउने लगायतका सेवाहरु काउन्टरबाटै गर्न सक्ने प्रवन्धक रायमाझीले बताए । ३७ औं एक्स्टेन्सन काउन्टरको रुपमा सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

बैंकले देशभर २ सय ६६ वटा शाखा, २ सय ५५ वटा एटिएम, २ सय ४५ वटा शाखारहित बैंकिङ्ग र विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्