नेपाल–भारत–मलेसिया पाम आयल प्रकरण: हजारौंको रोजगारी संकटमा



काठमाडौं ।  अहिले  आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालबाट हुने यसको निर्यात ठप्प छ । भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ ।

पाम तेलकै कारण निर्यातमा निकै ठूलो फड्को मारेको नेपालका लागि व्यापार घाटा कम गर्न यसको महत्वपूर्ण योगदान थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको यस्तो तेल भारत निर्यात भएको छ । यो नेपालबाट निर्यात भएका कुनै अन्य वस्तुमध्ये सबैभन्दा धेरै पनि हो ।

यता  भारत र मलेसियाबीच बढेको कूटनीतिक द्वन्द्वले मलेसियामा नेपालीसहित आप्रवासी कामदारको मुख्य रोजगार क्षेत्र प्लान्टेशन प्रभावित हुने भएको छ ।

भारतले करिब १५ दिन अघि मलेसियालाई लक्षित गरी प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो । भारत मलेसियाको प्रशोधित पाम आयालको ठूलो बजार हो । भारतले सन् २०१८ मा मामलेसियाबाट १.६५ अर्ब अमेरिकी डलर बराबरको प्रशोधित पाम आयल आयात गरेको थियो ।

मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहम्मदले भारतले भारत शासित कश्मीरलाई दिँदै आएको विशेष दर्जा खारेज र नागरिकता सम्बन्धी ऐन ल्याई मुस्लिम समुदायमाथि भेदभाव गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गरेपछि भारतले मलेसिया लक्षित गरीे प्रशोधित पाम आयल आयातमा रोक लगाएको थियो । यसको असर नेपालको अर्थतन्त्रमा समेत परेको छ ।

कश्मीर मामिला र नागरिकता सम्बन्धी ऐन आफ्नो आन्तरिक मामिला भएको बताउँदै आएको भारत र मलेसियाबीच दुईसाता यता उत्पन्न ‘कूटनीतिक इगो’ तत्काल शान्त हुने लक्षण देखिएको छैन । भारतले शनिवारबाट आफ्ना ३६ मन्त्रीलाई भारत शासित कश्मीर क्षेत्रमा खटाएर स्थितिलाई सामान्य बनाउने र आफुले उठाएको कदम सही स्थापित गर्ने प्रयास शुरु गरेको छ ।

मलेसियाको ट्रेड युनियन काँग्रेसले मलेसियाको प्लान्टेशन क्षेत्रमा भारतका करिब ५ लाख कामदार रहेको उल्लेख गर्दै निर्यात प्रतिबन्ध जारी रहेमा मलेसियाको पाम आयल उद्योग प्रभावित भई भुक्तानी रोकिने र त्यसको गम्भीर असर भारतीय मजदुर तथा उनीहरुका परिवारमा पर्ने भन्दै मलेसिया तथा भारत दुवै सरकारलाई ईगो छोडेर व्यापारलाई समान्यीकरणको लागि ध्यानकर्षण गराएको छ ।

भारतको प्रतिबन्धबाट मलेसियालाई निकै ठुलो नोक्सान पुग्ने आँकलन अन्तर्रा्ष्ट्रिय रुपमा समेत गरिएको छ । भारतीय प्रतिबन्ध जारी रहेमा मलेसियाको प्लान्टेशन वर्कर, सबै प्रकारका प्रशोधन कामदार, ट्रान्सपोर्ट सेक्टरका चालक तथा मल उद्योगमा असर पर्ने भन्दै त्यसको अप्रत्यक्ष असरले मलेसियाको सबै क्षेत्रलाई लपेट्ने आँकलन गरिएको छ ।

नेपालले मलेसिया र इण्डोनेशियाबाट कच्चा पदार्थ आयत प्रशोधन गरी ३० प्रतिशत मुल्य अभिबृद्धि गरेर भारतमा यस्तो तेल निकासी गर्दै आएको थियो । आफ्नो उत्पादन नभएता पनि प्रशोधित पाम आयललाई नेपालले प्रमुख निर्यात योग्य वस्तु बनाउन थालेको थियो । तर भारतको प्रतिबन्धले मलेसिया सहित नेपाललाई असर पुर्‍याउने देखिएको छ ।

भारतीय प्रतिबन्धले अघोषित व्यापार युद्ध र आर्थिक प्रतिबन्ध लगाएको भन्दै मलेसियन ट्रेड युनियन काँग्रेसका महासचिव जे सोलोमनले कूटनीतिक ईगो तत्काल अन्त्य गर्नुपर्ने समेत माग गरेका छन् ।

भारतीय कदमले नेपाललाई दुई पक्षबाट घाटा हुने देखिएको छ । मलेसियाको प्लान्टेशन उद्योग प्रभावित हुँदा प्रत्यक्ष रुपमा नेपाल आउने रेमिट्यान्स प्रभावित हुने छ भने नेपालको भारतसँगको निर्यात व्यापार प्रभावित भई अर्थतन्त्रमा पनि गम्भीर असर देखिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्