वैदेशिक रोजगार सूचना प्रणाली : ओमान, बहराइनतिर पनि समस्या



काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफआइएमएस) मा आइतबार देखि सहज रुपमा काम भएको बताएको छ ।

बुधबारदेखि शुक्रबार मध्यान्हसम्म प्रणालीमा प्राविधिक समस्या आएपछि धेरै म्यानपावर कम्पनीले पेश गरेका अन्तिम श्रम स्वकिृतिका फाईल रोकिँदा वैदेशिक रोजगार गन्तव्यमा उड्न जहाजको टिकट लिएकाहरुले लाखौं आर्थिक क्षति व्यहोर्नु परेको बताएका छन् ।

आइतबार प्रणाली मार्फत् काम भएपनि पहिले जस्तो सहज नभएको बताइएको छ । ताहाचलले बिशेषतः टिकट कै कारण अन्तिम स्वीकृतिलाई प्राथमिकता दिने गर्छ भने ४ बजेसम्म कार्यालय समय भए पनि बेलुकी ७ बजेसम्म संस्थागतहरुको पूर्व स्वीकृति दिने गरेको छ । गत जनवरी १ तारिखबाट उक्त प्रणालीमा वैदेशिक रोजगारसम्बद्ध सबैजसो कार्यालयहरु जोडिएका छन् । त्यसपछि सर्भर डाउनको समस्या बढेको विश्लेषण गरिएको छ ।

उक्त प्रणालीमा वैदेशिक रोजगारीमा जाने कामदार, विदेशस्थित नेपाली कूटनीतिक नियोग, बीमा कम्पनीहरु, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार बोर्ड, बैंक, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार व्यवसायी, तालिम प्रदायक संस्था, मेडिकल तथा श्रम रोजगार कार्यालय गरी एक दर्जन बढी संस्था आबद्ध छन् । सर्भरको क्षमता भन्दा बढी प्रयोगमा आएपछि सर्भरमा समस्या देखिन थालेको विभागका कतिपय कर्मचारीको बुझाइ छ ।

प्रणालीमा जोडिएकामध्ये कतार, कुवेत र यूएइले तत्काल विभागको एटेस्टेशन मोड्युल प्रयोग गरेर प्रमाणीकरण गरिएको डिमाण्ड अनलाइन मार्फत पठाउन नसकिने बताएका छन् । तर सोही क्षेत्रको ओमान र बहराईनबाट पनि प्रणालीमा डिमाण्ड आउन नसकेको व्यवसायीहरुको गुनासो छ । साउदी अरबमा भने सर्भरको भन्दा दूतावासका कर्मचारी डिमाण्ड प्रमाणीकरणमा बाधक बनेको व्यवसायीहरुको गुनासो छ ।

कतार, कुवेत र यूएईबाट प्रणालीमा डिमाण्ड नआउने भएपछि विभागले पुस १५ गतेसम्म प्रमाणीकरण भएका डिमाण्डलाई व्यवसायीहरुले आफैले डिजिटल हस्ताक्षरबाट प्रमाणीकरण गरेर पेश गरे पूर्व स्वीकृति पाउन सक्ने र पुस १५ गतेपछि प्रमाणीकरण भएका मागपत्र विभागको एटेस्टेशन मोड्युल प्रयोग भई आउनु पर्ने बताएको छ ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले परराष्ट्र मन्त्रालयमा समस्याको समाधानका लागि प्रयास गरिरहेको बताएका छन् । तर पटक पटक सर्भर डाउन भई विभागमै प्रणालीबाट काम हुन नसक्दा विदेशस्थित नेपाली नियोगहरुले प्रणालीमा प्रवेश नगर्ने थप बहाना पाउने कतिपय वैदेशिक रोजगार व्यवसायीको टिप्पणी छ ।

विभागले वैदेशिक रोजगार प्रशासनलाई स्वच्छ बनाउने भन्दै गत जनवरी १ तारिखदेखि प्रणाली कार्यान्वयनमा ल्याएपनि विगत १५ दिनको अभ्यासले शुरुमै प्रणालीको प्रभावकारीतामा प्रश्न उठेको छ ।

फ्रि भिसा फि टिकट अर्थात् शुन्य लागतमा कामदार वैदेशिक रोजगारीमा पठाउनु पर्ने कानूनी बाध्यतामा रहेका म्यानपावर व्यवसायीहरु टिकट काटेको दिन उडाउन नपाए त्यसको क्षतिपूर्ति कस्ले गर्ने भन्ने प्रश्न गर्दै विभागको प्रणालीबाट काम हुन्छ भन्ने सुनिश्चितता हुनुपर्ने माग गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्