कोरिया छोड्ने कामदार बढ्दै, यता मलेसियाले बढेको तलवको अनुगमन गर्ने



काठमाडौं । स्वेच्छाले देश छाडे पुनः कोरिया प्रवेशको अनुमति दिइने भएपछि करार अवधिपछि कोरिया छाड्ने विदेशी कामदारको संख्या बढेको छ । कोरियाको न्याय मन्त्रालयले सन् २०२० को जुन महिनासम्म स्वेच्छाले देश छोड्ने कामदारलाई पुनः कोरिया प्रवेशको सुविधा दिने घोषणा गरेको थियो ।

नयाँ नियम लागू भएपछि करार अवधिपछि कोरिया छोड्नेको संख्या बढेको भन्दै त्यहाँको न्याय मन्त्रालयले नोभेम्बरमा ४ सय ३३ र डिसेम्बरमा ७ सय २० जना आप्रवासी कामदारले कोरिया छाडेको बताएको छ ।

कोरियाले तोकिएको अवधि भित्रै स्वेच्छाले देश छाड्ने आप्रवासी कामदारहरुको लागि स्वदेश फिर्ती शुल्कमा छुट दिएको छ । कोरियाको इन्छन, ख्याङ्गिदो, आन्सान, बुछन आदि क्षेत्रमा अवैध आप्रवासी कामदारको चाप रहेको भन्दै कोरियाली सञ्चारमाध्यमहरुले सो क्षेत्रका करिब ५० प्रतिशत अवैध आप्रवासी कामदार घर फर्किने प्रक्रियामा प्रवेश गेको बताएका छन् । कोरियामा केही नेपाली कामदार करार अवधि सकिएपछि पनि लुकिछिपी बस्ने गरेका छन् ।

मलेसियाले बढेको तलवको अनुगमन गर्ने

मलेसियाले गत जनवरी पहिलो तारिखदेखि वृद्धि गरिएको कामदारको न्यूनतम तलव कार्यान्वयन भए नभएको गम्भीरताका साथ अनुगमन गर्ने बताएको छ । मलेसियाले अंग्रेजी सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी कामदारको मासिक न्यूनतम तलव १२ सय रिंगिट कायम गरेको छ । त्यसअघिसम्म मलेसियामा स्वदेशी तथा आप्रवासी दुवै कामदारहरुको न्यूनतम तलव ११ सय रिंगिट कायम गरिएको थियो । मलेसियामा स्थानीय तथा विदेशी दुवै कामदारका हकमा न्यूनतम तलव समान रहेको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले फेब्रुअरी महिनाको २८ तारिखको प्रतिक्षा रहेको भन्दै मलेसियाका सबै ५७ वटा शहर तथा नगर परिषद् अन्तर्गतका उद्योग प्रतिष्ठानहरुले वृद्धि भएको तलव कामदारलाई भुक्तनी गर्नैपर्ने बताएका छन् । स्थानीय पत्रकारहरुको एक प्रश्नमा मन्त्री सेगारनले भनेका छन्, ‘आगामी फेबु्रअरी २८ देखि बढीमा मार्च पहिलो तारिखसम्म सबै कामदारले बढेको न्यूनतम तलव पाए नपाएको गुनासो आइसक्ने छ । त्यसपछि यसमा थप निर्णय लिने छौं ।’

मलेसियाले सम्झौता अनुसार तलव सुविधा दिने पटक पटक प्रतिवद्धता व्यक्त गर्दै सम्झौता अनुसार तलव सुविधा नपाए आफ्नो श्रम विभागमा उजुरी गर्न नेपाली सहित सम्पूर्ण आप्रवासी कामदारहरुलाई आग्रह गरेको छ । मलेसियाले खासगरी नेपाली कामदार ठगीमा पर्ने तर श्रम विभागमा उजुरी हाल्न हिच्किचाउने गरेको भन्दै विना हिचकिचाहट त्यहाँको श्रम विभागमा उजुरी गर्न आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्