स्कुल बस दुर्घटना : सह–चालकको मृत्यु, ५ विद्यार्थी घाइते



विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ रामचोकमा बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । रंगेलीबाट विद्यार्थी बोकेर विराटनगरतर्फ आउँदै गरेको विराटनगरस्थित लर्ड बुद्ध हाइयर सेकेण्डरी स्कुलको मे १ ख १४९० नम्बरको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी दाहालले दिए । उनका अनुसार सितलहरसँगै लागेको बाक्लो हुस्सु लागेको समयमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा बस सडकबाट पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् । धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीया सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीया लुना गौतम घाइते भएका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

प्रनि दाहालका अनुसार बसमा १२ जना विद्यार्थी सवार थिए । बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक खड्काले हुस्सु लागेको बेला टाढासम्म देख्न नसक्दा विपरित दिशाबाट एक्कासी गाडी आएको र त्यसलाई साइड दिने क्रममा आफूले चलाएको बस पल्टिएको प्रहरीलाई बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्