महायज्ञमा जातीय भेदभाव, दलित समुदायको आक्रोश



राधेश्याम विश्वकर्मा , भैरहवा । मायादेवी गाउँपालिका–६ बेथरीमा आयोजित शतचण्डी महायज्ञको अन्तिम दिन बेथरी मात्र होइन त्यस आसपासका गाउँहरुबाट पनि प्रसाद ग्रहणको लागि लाइन लागेको थियो । कोही पिठो मुछ्न ब्यस्त थिएभने कोही पुरी बेल्न । चारैतिर काम गर्ने र खानेको भिडभाड थियो । तर बेथरीकै दलित समुदायलाई यो सामुहिक भण्डाराले छोएकै थिएन ।

गाउँले सबै भण्डारा खान परिवारसहित पुग्दा महायज्ञ स्थल नजिकै फुसको घरमा एक किशोरी आफ्नै भान्छामा खाना बनाउने तयारीमा थिइन । बेथरीका करिब २५ घरका हरिजन परिवारलाई यो भण्डाराले समेट्न नसकेको उनीहरुको गुनासो थियो ।

माघ ११ देखि आयोजित शतचण्डी महायज्ञमा सुरुदेखी नै यहाँका दलित समुदाय जातीय भेदभावमा परेको गुनासो गर्दछन् । सामुहिक भण्डारामा खानको लागी कसैले अवरोध नगरे पनि आफुलाई खाना बनाउनमा सहभागी नगराएको भन्दै उनीहरुले आक्रोश पोखे । महायज्ञको सुरुदेखि नै आफुहरुमाथी जातीय भेदभाव भएको स्थानिय किशोरी राधिका हरिजनको गुनासो थियो ।

खान खान अवरोध नभए पनि दलित भएकै कारण आफुहरुलाई अन्य कार्यमा सहभागी नगराई जातीय बिभेद गरेको उनीहरुको गुनासो रहेको छ । ‘महायज्ञमा सहभागी भई जुठो पात फाल्ने, झाडु लगाउने हुने तर खान पस्किन चाही किन नहुने’, स्थानिय बालकृष्ण हरिजनले आक्रोश पोखे ।

कोटहीमाई स्थानमा भएको यज्ञमा स्थानिय दलित प्रकाश हरिजनले महायज्ञमै १ कठ्ठा जग्गा दान गरे । आफ्नो लाखौं मूल्य पर्ने जग्गा दानमा लिए पनि प्रसाद वितरण कार्यमा भने सहभागी हुन नदिएको उनको पनि भनाई थियो ।

बिशेषगरी यादव र अन्य उच्च जातीको बासोबास रहेको बेथरीमा दलित समुदाय अपहेलित भए पनि त्यहाँ अहिले सम्म कुनै निकाय पुग्न सकेका छैनन् । यता महायज्ञ समिति भने जातीकै आधारमा बिभेद नगरेको दावी गरेका । महायज्ञ सम्पादन मूल समारोह समितिका अध्यक्ष नन्दलाल यादवले आध्यात्मिक कार्यमा कुनै प्रकारको बिभेद नगरिएको दावी गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्