धनुषा बम काण्ड: मुख्य योजनाकार विप्लव नेकपाका प्रदेश ब्यूरो सदस्य पक्राउ



जनकपुर । धनुषाको महेन्द्रनगरमा भएको बम काण्डका मुख्य योजनाकार मानिएका नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ब्यूरो सदस्य पक्राउ परेका छन्।

धनुषाधाम नगरपालिका-६ सरस्वतीपुरका ३४ वर्षीय इन्दल साहलाई माघ २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। साहलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ। साहलाई इलाका प्रहरी कार्यालय कट्टरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए।

चन्दा संकलनका लागि सप्तरी आएको बेला साहलाई सुरूङ्गा नगरपालिका( ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाका अर्का योजनाकार सोहि पार्टीका केन्द्रीय सदस्य आदम राइनलाई धनुषा प्रहरीले गत पुस १६ गते पक्राउ गरेपछि साह सप्तरीमा खटिएका थिए।

क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित राजेश साहको घरमा गत मंसिर २७ गते राति भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय साह र उनका छोरा १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो। विस्फोटमा परी राजेशका बुवा ७० वर्षीय भिखारी साह, छोरा १९ वर्षीय प्रकाश साह, छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते भएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्