चक्रघट्टी जेसीजले वराहक्षेत्र रन कार्यक्रम गर्ने



चक्रघट्टी, सुनसरी । नेपाल भ्रमण (भिजिट नेपाल) २०२० लाई लक्षित गर्दै अागामी फाल्गुन १७ गते चक्रघट्टी जेसीजले ‘प्रथम वराहक्षेत्र रन-२०७६’ कार्यक्रम अायोजना गर्ने भएको छ । जेसीजले शनिवार अाफ्नो सचिवालयमा एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

कार्यक्रमका बारेमा बोल्दै जेसीज अध्यक्ष सन्तोष चौलागाईंले सो कार्यक्रम वराहक्षेत्र नगरपालिकाकै अाजसम्मकै सबैभन्दा ठूलो हाफ म्याथुन प्रतियोगिता हुने तथा भिजिट नेपाल २०२० अन्तरगतको पहिलो बृहत कार्यक्रम हुने दाबी गरे ।

वराहक्षेत्र नगरपालिकामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै वराहक्षेत्र नगरपालिकालाई देशभरि नै चिनाउनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने समेत उनले बताए ।

अान्तरिक पर्यटन प्रवर्द्धन गर्दै नेपाल सरकारले गौरवको कार्यक्रमका रूपमा लिएको भिजिट नेपाल २०२० को कार्यक्रमलाई सार्थक बनाउनका लागि अायोजित प्रथम वराहक्षेत्र रन-२०७६ कार्यक्रम वराहक्षेत्र नगरपालिकाको चतरा स्थित कुम्भ स्तम्भबाट सुरू भई वराहक्षेत्र नगरपालिका-६, चक्रघट्टी स्थित महेन्द्र मा.वि. को प्राङ्गणमा अाएर समापन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रू. २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भनें क्रमश: दोस्रो हुनेले रू. १२ हजार, तेस्राे हुनेले रू. ७ हजार र सान्त्वना हुनेले रू. ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दौडमा भाग लिनका लागि १८ बर्ष उमेर पूरा भई ४० बर्ष नकाटेको हुनुपर्ने छ ।

कार्यक्रममा वराहक्षेत्र नगरपालिका एवम् गृह जिल्लाका धरान, इटहरी, इनरूवा साथै मोरङ, उदयपुर, सप्तरी, सिराह, झापा, धनकुटा, भोजपुर लगायतका छिमेकी जिल्लाहरूबाट करिब ५ सय धावक उपस्थित भई कार्यक्रममा सहभागी हुने अनुमान गरिएको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

करिब ६ लाख बराबरको लागतमा संचालन हुने सो कार्यक्रमका लागि केही उत्पादक कम्पनीहरू, स्थानीय समाजसेवी, जेसीजका मानार्थ सदस्य तथा पूर्व अध्यक्षहरूबाट सहयोग प्राप्त भएको सो कार्यक्रमका कार्यक्रम संयोजक लोमनाथ दाहालले जानकारी गराए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्