कोभिड १९ र नेपाल भ्रमण वर्ष २०२०

समाधान खोज्दै जाँदा...!


पि.एल.आशिष, नुवाकोटे
मलाई मेरो राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता सहित भोलीका दिनमा बन्ने समाजको लागी स्पष्टे मार्ग चित्रको खाँचो छ । यो देशमा कानून छ तर कार्यान्वयन आ-आफ्नै सैलिमा हुने परिपार्टिलाई कुन व्यबस्था भन्ने ? कानूनी वा गैरकानूनी ?

यहाँ सम्पन्न भन्दा बिपन्नहरुकै जमात देख्न पाईन्छ । त्यती हुँदैगर्दा उनिहरुको दैनिकी कसरी चलेको होला ! आश्रीत परिवारले उसको कमाईबाट दैनिकी गुजारा गर्न सक्षम छन् की छैनन् ? त्यस्ता व्यक्तीको दैनिक खर्च र उसले गरेको व्यबसाय वा कमाईबाट हुने आम्दानीको अनुपात मिल्छ की मिल्दैन ? यदी उसले गरेको कमाईबाट दैनिक खर्च धान्न नसकि ऋण वा सापटी गरेर खर्च चलाउन परे त्यस व्यक्तीलाई ऋण कसले देला ? बालबच्चाहरुको शिक्षा दिक्षा, लालनपालन कसरी गरेको होला ? यो व्यस्त शहरको अस्वस्थ्य वातावरणमा उसले कति हिउँद र वर्षा वितायो होला ? उसको स्वास्थ्य अवस्था कस्तो होला ? भोलीका दिनमा त्यसको पनि मृगौलामा समस्या आयो भने डायलासिस सम्म गर्ने खर्चको व्यबस्था कसरी जुटाउला ? फेरी ऊ आफैं बिरामी पर्दा त्यही सामान्य मजदुरको पारिवारीक अवस्था कस्ले सम्हाल्देला ? यि सामान्य नागरिकको दैनिकी सँग सोचिदिने, तिनीहरुको उचित ब्यबस्थापनको लागी कानून बनाएर कार्यान्वयन गर्ने सरकार कहिले बन्ला ?

कल्पनामा डुब्ने अधिकार सार्वभौम मुलुकमा जो कोहीलाई पनि उपलब्ध हुनेछ । हरेक नेपालीले स्वतन्त्रता पुर्वक बाँच्न पाउने व्यबस्था पनि संविधानमा उल्लेख भएको छ । त्यतीमात्र नभएर नैसर्विक अधिकार अन्तर्गत उल्लेख भएका कुराहरु प्रत्येक नेपालीले उपभोग गर्न पाउँछन् भनिएको छ ।तर विश्व स्वास्थ्य संगठनले प्रचार गरेको तथ्याङ्क अनुसार चिनको हुवान प्रान्तबाट शुरु भएको भनिएको कोरोना भाईरस (कोभिड-19) विश्वका ६४ देशहरुमा फैलिई सकेको र मृतकको संख्या ४०००/- भन्दा बढि भई सकेको तथ्य सँग आम नेपालीहरु जानकार छन् तर कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी अपनाउनु पर्ने सामान्य उपय समेत अपनाउने हैसियत राख्न सक्दैनौ हामी । किनकी एक महिना अगाडी प्रतिगोटा ५ रुपैंयामा पाईने माक्स आज ८० रुपैंया तिर्दा पनि सहज उपलब्ध हुन सकेको छैन । यहाँ सरकार छ, कानून छ, कानून कार्यान्वयन गर्ने बिभिन्न निकाय पनि छन् तर दुःखको कुरा यहाँ मानवता हराएको छ । अनी यहाँ कसैले बदमासी गर्दै गरेको, कसैले कसैमाथी बदनियतका साथ आर्थिक तथा सामाजिक अपराध गरिरहेको देख्ने हरुले कुनै प्रतिकृया दिन चाहँदैनन् । गृह प्रशासन र प्रहरीमा उजुरी नआए सम्म अपराध गर्ने उपर कारबाही हुँदैन् । त्यसमा पनि ब्यापारीहरुलाई कारबाही गर्ने हैसियत……., खै कुन माननीयले राख्लान र ? यदी पदिय मर्यादा उलंघन गरेमा कानून बमोजिम कारबाही हुने भए केहीदिन पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यालयमा बिदेशी ब्राण्डको मदिरा पिउँदै गरेको तस्वीर सहितको समाचार सार्बजनिक भयो तर यहाँ बहुमतले काम गर्यो की बेईमानले…? खै कुनै कारबाही भएन वा सुन्नमै आएन ? तर आम जनताको नजरमा यिनीहरु गिर्दैछन् समाप्त हुँदैछन् ।

अपराधको सुचना पाउनासाथ कारबाही हुने भए यहाँ मन्त्री तथा माननीयहरु ब्यापारी सँग डिनर खाँदै कमिशनको ड्रिल गर्दैनथे होला, अनी बल्ल तल्ल कसैको कर्तुत बाहिर आउनासाथ सम्माननीय स्वयमले “यो कसैले कसैलाई फसाउन रचियको नियोजित षड्यन्त्र हो, यसमा नाम लिईएका तथा आरोप लगाईका ब्यक्तीहरुबाट त्यस्तो हुनै सक्दैन । त्यो कुराकानी उहाँले नै गर्नु भएको भन्ने प्रमाण के छ” ? भनेर एउटा प्राईभेट वकिलले जसरी खुल्ला बहसमा उत्रिनुलाई नतमस्तक भएर सुन्ने जमात र सम्मननियज्यूले बिपक्षीहरुलाई पुग्ने गरी भनिदिनु भो भन्दै चिया पसल, चौतारी मात्र नभई शिक्षण अस्पतालको पेटीमा भरिभराउ भएर बसेका कमरेडहरुको मुहारमा आएको चमक…………., यो पनि कोरोना भन्दा कम छैन् ।

वार्षिक एकलाख रकम बराबरको व्यापार गर्नेले यो राज्यमा सरकारले तोकिदिएको कर तिर्न राजि छन् । केवल कर तिरेको पैसा राज्यले नैसर्विक अधिकार अन्तर्गत उल्लेख भएका कुराहरुमा, बिकासका कार्यहरुमा सरकारी अस्पतालको स्तरवृद्धिमा खर्च गरोस् भन्ने चाहना राखेका हुन्छन् तर यहाँ नागरिकले तिरको कर तीनतहको सरकारका माननियहरुको भ्रमण खर्चमा सकिन्छ । बिकासका लागि बिभिन्न राष्ट्रहरुले अनुदान र ऋण सहयोग दिएका छन् त्यो रकम कर्मचारीलाई तलब, नयाँ कार्यालय स्थापना गर्ने र तिनमा आफ्ना लिगेसीका कार्यकर्ताहरुलाई जागिर दिने, आवासको व्यबस्था गर्ने, यातायातको व्यबस्था गर्ने लगायतका कार्यमा खर्च हुन्छ । ठुला ब्यापारीहरुले सकेसम्म मिलाएर थोरै भन्दा थोरै कर तिर्ने गरेकाछन् भने Ncell जस्ता विदेसी लगानिमा संचालित व्यबसायीहरुले राज्यलाई तिर्नुपर्ने करमध्ये केही राजनैतिक दललाई चुनाव खर्च गर्न दिएको र केही माफियातन्त्रको मिलेमतोमा सम्मानित अदालतबाटै कानून बमोजिम हुने गरी करछुट दिएको सम्मका समाचारहरु सुन्दा त्यो फुटपाथमा ब्यापार गर्ने एउटा मान्छे, अनुदानको रासायनिक मललाई दोब्बर भाउमा किनेर खेतमा तरकारी फलाउने किसान अनी एउटा बोर्डिङ स्कुलको अस्थाई शिक्षकको रुपमा हाम्रा बालबच्चाहरुलाई पढाउने शिक्षकलाई कस्तो आभाष हुन्छ होला ? त्यो शिक्षकले आफ्ना विद्यार्थीलाई कुन मनसायले पढाउँछन् होला ? अनी सानो तहमा जागिर खाने कर्मचारीको पारिवारीक अवस्था कसरी चलेको होला ? यिनलाई सम्बोधन गर्ने व्यबस्थालाई कुन तन्त्र भन्नष मिल्ला ? कुन बादको मनोविज्ञानमा यस्ता नागरिकको उचित ब्यबस्थापन र सम्वोधन हुन सक्ला ?

भारत स्वतन्त्र भएपछि भारत र नेपाल बीच ताजा सम्बन्ध राख्न सन १९५० मा अलग्गै सन्धि गरियो । परिणाम स्वरूप नेपाल भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छ । कालापानी, लिम्पीयाधुरा, सुस्ता, मेचिक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी लगायत यस्ता ५४ वटा क्षेत्रहरु छन् । यि स्थानको स्थाई रुपमा साँध सिमाना कायम गरी त्यस क्षत्रमा बस्ने नेपालीलाई चिरकाल सम्म नेपालीनै बनाई राख्न र मातृभुमीको अस्मिता बचाई राख्न नसक्ने हो भने बिभिन्न बाद र नारामा आधारित राजनितीक दल र बिभिन्न संस्थाको आवश्यकता र औचित्य के हुन सक्छ ? नेपालको भुमी रक्षा गर्ने जिम्मा कस्ले लिन्छ ? आफुले सिफारीस गरेको एउटा कार्यकर्ताको जागिर भएन भने नियुक्ति दिने अधिकृतको दुर्गममा सरुवा हुन्छ, पदोन्नतीमा बिबाद हुन्छ, मौका मिले कारबाही हुन्छ तर देशको सिमाना र सिमा स्तम्भ हराउँदा सिमानामा बस्ने नेपालीले म कुन देशको नागरिक हुँ भनेर सरकारलाई सोध्ने की अदालतमा मुद्धा हाल्ने की कुनै पार्टिका सिर्श नेता तथा मन्त्री प्रधान मन्त्रीलाई गुहार माग्न जाने ?

विश्वमा प्राकृतिक तथा जैविक हिसावले सवैखाले सम्भावना र सौन्दर्यताको खानी नेपाल, ईमान्दार, बहादुर र कर्तव्यनिष्ठ नेपाली भनी चिनिएको मेरो देश आज अराजकताको भुमरीमा पिल्सिएको छ । हरेक दिन नेपाली युवाहरु बिदेशीको दास बन्न जाँदैछन्, त्यहाँको जनजिविका, त्यहाँको भौगोलिक अवस्था, रोग तथा बिभिन्न महामारीको प्रभाव….आदी बारे ति नेपालीहरु सचेत वा जानकार होलान त ? पक्कै पनि छैनन् यदी तिनीहरु बिदेश गए लगत्तै कोरोनाबाट प्रभावित भए भने वा अहिले बिदेशमा भएकाहरु कोरोना संक्रमित भएर आफुखुशी नेपाल फर्किए भने… तिनीहरुको उपचार र यहाँका नेपालीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिनेहरु कहाँ छनहोला ?

सरकारी तथा गैर सरकारी संस्थाको नाममा बिदेशीले राजनिती, धर्म, सामाजिक सभ्यता लगायत हरेक समुदायमा कुनै न कुनै ढंगबाट अस्थिरता फैलाएका छन् । बिभिन्न दल तथा तिनका नेता कार्यकर्ता तिनै बिदेशीको ईशारामा काम गरेर बफादार बन्ने होडबाजीछ । आफ्ना सन्तान र नातेदारलाई बिदेशमै उच्च शिक्षा दिलाउने, बिदेशमै काममा लगाउने अनी उताबाट आएको डलरले यहाँ गुण्डा र डनहरुको संरक्षण गर्ने र राजनितिक पहुँच बनाउने सिवाय के उपलब्धी हुन सक्यो र मेरो देशमा……….!

राष्ट्रनिर्माताको शालिकमा बम पड्काउनेहरुको बादलाई राष्ट्रबादको सिद्धान्त मान्ने हामी नेपाली, जनै लगाएरै होली वाईन खान सक्ने नेता, कुन दलको मान्छे भनेर फैसला गर्ने न्यायाधिष, सार्बजनिक सम्पत्तीनै ब्यक्तीको नाममा बनाउन सक्ने मालपोतका हाकिम अनी पैसा तिरेर बनेका मन्त्री तिनै मन्त्रीको सिफारिसमा नियुक्त भएका कर्मचारी ..जी, यि सबै राष्ट्र, राष्ट्रियता र भोलीका सन्ततीको भविष्यतको लागी समेत विष बराबर हुन् अहिले विश्व कोरोनाबाट प्रभावित छ, भोलीका दिनमा बिकशित राष्ट्रहरुले त्यसको सफल उपचार गर्लान, कोरोना बिरुद्धको एन्टिभ्याक्सिन बन्ला तर नेपालमा गाँजिएको भष्ट्राचारको संस्कार विरुद्धको भ्याक्सिन कसले बनाउला ? यहाँ समस्या हजारौं बनिरहेकाछन् तर समाधान कहाँ होला र कहिले होला ? यहाँ न त माक्स भेटिन्छ न त नागरीक अधिकार……, भेटिन्छ त केवल कालाबजारी, भ्रष्ट्राचारी र कमिसनखोरीहरु…. ।

अन्त्यमा नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष एवं नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओलीज्यूले आफ्नो स्वास्थ्यमा समस्या आएकाले दोश्रो पटक मृगौला ट्रान्सप्लाण्ट गराउनु भयो त्यो पनि हामी आम सर्बसाधारण जनताले उपचार गराउने शिक्षण अस्पतालमा यो उहाँले लिनुभएको निर्णय र उहाँको उपचारमा संलग्न चिकित्सक टिमलाई उच्च सम्मान गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । पशुपतिनाथले हामी सवैको कल्याण गरुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्