फागुन महिनामै ५० हजार कामदार विदेशिए, हेर्नुहोस टपटेन म्यानपावरहरु यस्ता छन



 

काठमाडौं : वैदेशिक रोजगार विभागले फागुनमा मात्रै करिब ५० हजार नेपालीलाई वैदेशिक रोजगारीका निम्ति श्रमस्वीकृति दिएको छ । कोरोना संक्रमणबीच विभागले संस्थागत, व्यक्तिगत नयाँ श्रमस्वीकृति, पुनःश्रम स्वीकृति (रिइन्ट्री) र वैधानिकीकरण प्रक्रियामार्फत विदेश जान लागेकालाई श्रमस्वीकृति दिएको हो ।

फागुनमा २२ दिन कार्यालय खुलेकोमा ४९ हजार ४ सय ५० जनाले श्रमस्वीकृति लिएका छन् । यस हिसाबले दैनिक २ हजार बढी नेपाली वैदेशिक रोजगारीमा जाने देखिएको छ ।

त्यसमा म्यानपावर कम्पनीमार्फत श्रमस्वीकृति लिनेको संख्या आधाभन्दा केही बढी अर्थात् २६ हजार ३ सय ९ छ । बाँकी भने व्यक्तिगत, नयाँ श्रमस्वीकृति, रिइन्ट्री र वैधानीकरण माध्यमबाट श्रमस्वीकृति लिएर जाने कामदार हुन् ।

फागुन महिनामा संस्थागत रूपमा सबैभन्दा धेरै कामदार मलेसिया गएको तथ्यांकले देखाएको छ । व्यक्तिगततर्फ नयाँ, रिइन्ट्री तथा वैधानिकीकरण माध्यमबाट धेरै नेपालीले यूएईका लागि श्रमस्वीकृति पाएका छन् । फागुन महिना मलेसियाका लागि संस्थागत रूपमा ८ हजार २ सय २१, यूएईका लागि ६ हजार ३ सय ६३, साउदी अरेबियाका लागि ५ हजार ८ सय ५५ र कतारका लागि ३ हजार १ सय ३३ जनाको श्रमस्वीकृती भएको छ । यूएईको सबै प्रक्रियाबाट १२ हजार १ सय ६ जनाले श्रमस्वीकृति लिएका छन् । अघिल्लो महिना साउदी जाने कामदारको संख्या सबैभन्दा धेरै थियो । फागुन महिनामा संस्थागत रूपमा अफगानिस्तान १५, बहराइृन ३ सय ७२, साइप्रस २ सय ३५, जापान ४४, जोर्डन २ सय ३८, कुवेत १ हजार २ सय ३५, माल्टा २६, ओमन १ सय ८८, रोमानिया ३ सय १९, टर्कीका लागि ३८ जनाको श्रमस्वीकृति भएको छ ।

श्रमस्वीकृति लिएका नेपाली गन्तव्यमा जान भने पाएका छैनन् । सरकारले गत फागुन २९ देखि अनिश्चितकालका लागि श्रमस्वीकृति स्थगित गर्ने निर्णय गरेको थियो । श्रमस्वीकृतिमा प्रतिबन्ध लगाएसँगै मलेसिया, कुवेत, कतार, साउदी अरब र ओमानलगायतका देश जान नेपालीले पाएका छैनन् ।

सरकारले कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जाने कामदारको श्रमस्वीकृति रोकेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमस्वीकृति लिएका ४५ हजार कामदार वैदेशिक रोजगारीमा जान नपाएको दाबी गरेको थियो । उक्त दाबीलाई सरकारी आँकडाले पुष्टि गरेको छ । संघले उनीहरूलाई राहत तथा क्षतिपूर्तिको माग गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेकोे कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको फागुन २९ गतेको बैठकले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टै विभागले अनिश्चितकालका लागि श्रमस्वीकृति रोकेको थियो ।

यसैबीच, दी रिभर ओभरसिज प्रालि फागुनमा पनि धेरै कामदार विदेश पठाउने म्यानपावर कम्पनीको पहिलो नम्बरमा पर्न सफल भएको छ ।

गत पुस र माघमा धेरै कामदार पठाउने म्यानपावर कम्पनी दी रिभर शीर्ष स्थानमा रहेकाे छ ।  दी रिभरले फागुनमा ६ सय ४५ जनाको श्रमस्वीकृति गराउँदै पहिलो स्थान सुरक्षित गर्न सफल भएको हो ।

दोस्रो नम्बरमा ट्रस्ट नेपाल ओभरसिज प्रालि छ । उसले फागुनमा ६ सय ४४ जनाको श्रम स्वीकृति निकालेको छ । सूचीको तेस्रोे नम्बरमा रहेको प्याराडाइज इन्टरनेशनल प्रालिले ५ सय १७ जनाको श्रम स्वीकृति लिएको छ ।

लक्की एचआर सोलुसन प्रालि सूचीको चौथो नम्बरमा छ । उक्त म्यानपावर कम्पनीले ४ सय ८१ को श्रमस्वीकृति लिएको छ । पाँचौंमा कोशी इन्टरनेशनल सर्भिस प्रालि र छैठौंमा दुबई ओभरसिज छन् । यी कम्पनीले क्रमशः ४ सय ३६ र २ सय ७८ जनाको श्रमस्वीकृति गराएका छन् । एसओएस सर्भिसेज प्रालिले २ सय ७६ को श्रमस्वीकृति निकाल्दा मास ह्युमन रिसोर्स प्रालि. र स्काई ओभरसिज प्रालिले समान २ सय १६ जनाको श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । नवौं स्थानमा रहेको साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिले १ सय ९१ र दशौं नम्बरमा रहेको अल आक्समास कम्पनी प्रालिले १ सय ८७ जनाको श्रम स्वीकृति लिएका छन् ।

सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये फागुनमा ७ सय ४३ म्यानपावर कम्पनीले मात्रै श्रम स्वीकृति लिन सफल भएका छन् । १ सय ११ म्यानपावर कम्पनीले भने एक जनाको पनि श्रमस्वीकृति निकाल्न सकेनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्