कोरोना त्रास- अस्ट्रेलिया र न्युजिल्याण्डमा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध



चीनको वुहान शहरबाट  सुरु भएको कोरोना भाइरसले देशमा संक्रमण फैलिन थालेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना देशमा विदेशी नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्धको घोषणा गरेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘न्युजिल्याण्डका जनतालाई कोभिड–१९ को संक्रमणबाट बचाउन हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो ।

विश्वका अन्य भागमा भाइरसको संक्रमण फैलिरहँदा हामीले हाम्रो सीमा नियन्त्रणमा सशक्त कदम लिनुपर्ने प्रष्ट भएको छ । आजको निर्णयले कुनै पनि पर्यटक वा अस्थायी भिसा लिएका विद्यार्थी वा कामदारहरुलाई न्युजिल्याण्ड प्रवेशमा रोक लगाउने छ ।’

यो नियम प्यासिफक आइल्याण्ड र अस्ट्रेलियाका नागरिकहरुमा पनि लागु हुने बताइएको छ । अस्ट्रेलियाका नागरिकहरु बिना भिसा दुई देशमा आवतजावत गर्न पाउँछन् ।

उता, अस्ट्रेलियाले पनि भोलिदेखि विदेशी र गैरअवासीयहरुलाई आफ्नो देशभित्र प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए । मोरिसनले भोलि साँझ ९ बजेदेखि यो नियम लागु गरिने जानकारी दिए ।

उनले यसका लागि न्युजिल्याण्डकी प्रधानमन्त्रीसँग छलफल गरिएको र सँगै यात्रा प्रतिबन्धको निर्णय लिइएको पनि जानकारी दिए । विदेशमा रहेका अस्ट्रेलियाली नागरिक स्वदेश फर्कन पाए पनि उनीहरु देशमा फर्किएपछि १४ दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

अस्ट्रेलियामा हिजो एकै दिन १११ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा संक्रमितको सङ्ख्या ५६५ पुगेको छ । यसमध्ये २५९ विदेशबाट आएकामा देखिएको जनाइएको छ । ५६५ मध्ये ४६ जना निको भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्