कतारमा कोरोना भाइरसका कारण संक्रमितको संख्या ४ सय ५२ पुग्यो



काठमाडौं : कतारमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । बुधबार थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भाइरस देखिएका मध्ये ९ जना क्वारेन्टाइनमा रहेका आप्रवासी कामदार र एक जना स्विजरल्याण्डबाट फर्किएका कतारी नागरिक रहेको बताइएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बताएका छन् । भाइरस पोजेटिभ देखिएका मध्ये ४ जना निको भएर घर फर्किएका छन् ।

संक्रमण बढेपछि कतारले सार्वजनिक कार्यक्रम, भेला लगायत भीड जम्मा हुने कुनैपनि खालका कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरससँग सम्बन्धित भएका जानकारी दिन अँग्रेजी तथा अरबिक भाषामा कल सेन्टर शुरु गरेको छ ।

संक्रमणबाट बच्न कतार सरकारले आप्रवासी कामदार बस्ने क्याम्पको सरसफाइ शुरु गरेको छ । त्यहाँको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले टच फर क्लिनिङ हस्पिटालिटी नामको स्थानीय कतारी कम्पनीले सफाइ अभियान थालेको जनाएको छ । यसैक्रममा सनैयास्थित औद्योगिक क्षेत्रका १ देखि ३१ नम्बरको स्ट्रिटमा रहेका २ सय ३२ वटा क्याम्प सफा गरिएको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्