सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने



काठमाडौं, । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भएकालाई दिने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय सरकारले गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने निब्र्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्राप्त हुने २९ मिलियन अर्थात् तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार्ने निर्णय भएको छ ।

मन्त्री खतिवडाले एशियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार्ने निर्णय भएको जानकारी दिए । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

राहत प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्ने निर्णय गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्