कच्चापदार्थ लिएर आएका २७ भारतीय ट्रकलाई नवलपरासीमा स्थानीयको अवरोध



नवलपरासी, वैशाख ५ । उद्योगका लागि कच्चापदार्थ लिएर आएका २७ भारतीय ट्रकलाई पश्चिम नवलपरासीको पोखरापालीका स्थानीयले शुक्रबार अवरोध गरेका छन् ।

भारतमा कोरोनाको संक्रमण बढिरहेका बेला ट्रकमा आउने चालक र सहचालकका कारण आफूहरु जोखिममा पर्ने भन्दै स्थानीयले ट्रकलाई उद्योग प्रवेश गर्न दिएका छैनन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पोखरापालीमा रहेको सिद्धिलक्ष्मी स्टिल उद्योगका लागि ट्रकले कच्चापदार्थ लिएर आएका हुन् ।

भैरहवा भन्सार कार्यालयबाट प्रवेश पाएका ट्रकहरु स्थानीयको अवरोधका कारण उद्योगअगाडि र भूमही–भैरहवा सडकखन्डको सुक्रौलीमा रोकिएका छन् ।

पटक–पटक ट्रक नल्याउन आग्रह गरेपनि दैनिकजसो २० देखि ४० ट्रकहरु भारतबाट आउँदा जोखिम बढेको स्थानीयको भनाइ छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्सार काटेर आएका सवारी–साधनलाई रोक्न समस्या भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्