देशैभरका मस्जिदहरुमा कडा निगरानी, सीमा आवतजावतमा पनि थप कडाइ



काठमाडौं । उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा सरकारले निगरानी बढाएको छ ।

कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिको संख्यामा संक्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो ।

यसैक्रममा हिजो दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

आरडिटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले बताए ।

उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ । कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि उनीहरु भारत फर्कन नपाएको बताउँदै आएका छन् ।

उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् । देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए ।

यसैगरी हिजो नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडिटी परीक्षण गरिएको थियो । तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्