अझै तीन दिन मौसम नखुल्ने: आज पनि हावाहुरी, असिना-पानीको सम्भावना



काठमाण्डौ । हावाहुरी, चट्याङसहितको वर्षा अझै केही दिन जारी रहने मौसमविद्ले अनुमान गरेका छन् । देशमा अहिले धेरै खालका मौसमी प्रणाली रहेकाले कम्तीमा अझै तीन दिन मौसम सफा हुने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका हुन् ।

आज आइतबार पनि देशका सबै भेगमा तर केही स्थानमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु छ भने पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको प्रभाव छ। यसैगरी बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ भने स्थानीय वायुको प्रभाव पनि उत्तिकै छ ।

कतिपय ठाउँमा अहिले पनि वर्षा भइरहेको उल्लेख गर्दै उनले विशेषगरी अपराह्नपछि हावाहुरी, मेघगर्जन, चट्याङ र असिना पानीको सम्भावना देखिएको बताए । आज काठमाडौं उपत्यकामा पनि यस्तै वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा पनि मंगलबारसम्मै देशभर बदली तथा हावाहुरी, चट्याङ र असिना पानीको सम्भावना रहेको उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्