जेष्ठ,२२
चितवनको भरतपुर महानगरपालिका –१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने भएको छ । हिजो दर्ता भएको रिटको आज सुनुवाई गर्ने सर्वोच्च अदालतले जनाएको छ । आयोग, भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाई महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गर्नुभएको हो । निवेदनमा नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गराउन माग गरिएको छ । आयोगको निर्णय गैरकानूनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तटस्थताकै विपरीत स्वेच्छाचारी र दुराशययुक्त रहेको निवेदनमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।