कम्युनिष्टहरु जनतालाई गरिब बनाउछन्, हामी धनी बनाउछौ ः नेका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठ



सैघाली खबर

चितवन ,१८ मंसिर

नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रदेश सभातर्फ (क) का उम्मेदवार तथा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिष्टहरुले जनतालाई गरिबीको दुश्चक्रमा राखेर शासन गर्ने र कांग्रेसले गरिब जनतालाई सबै स्वतन्त्रता दिई धनी बनाउने भएकोले २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई रुख चिन्हमा छाप लगाएर अत्यधिक मतले विजयी बनाउन आग्रह गर्नुभएको छ ।

आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १ र कालिका नगरपालिका वडा नम्बर ८ मा आयोजित चुनावी सभामा बोल्दै उहाँले कम्युपिनष्टहरु जनतालाई झुक्याउन सिपालु रहेको बताउनु भएको छ ।

कम्युनिष्टहरु सशस्त्र युद्धका नाममा पनि गरिब,निमुखा,निहत्था जनताको हत्या गरेको र मुलुकमा बडो मुस्किलले बनाइएका विकासका संरचनाहरु पनि तहसनहस गरेको आरोप लगाउनुभयो । उहाँले समयमा सही निर्णय गरेर वाम गठबन्धनका सच्चिने जनादेश नदिएमा देश ठूलो दुर्घटनामा जाने बताउनुभयो । उहाँले देशलाई आसन्न दुर्घटनाबाट रोक्न नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन पनि आग्रह गर्नुभयो ।

‘कम्युनिष्ट गठबन्धनका नेताहरुले एकपटक जनादेश लिएर ५० बर्ष शासन गर्ने जुन ढोल पिटेका छन्, त्यसले नेपाली जनताले ७० बर्ष संघर्ष गरेर ल्याएको लोकतन्त्र, लोकतान्त्रिक संविधान र जनताको भावनामाथि नै कुठाराघात गर्न खोजेको छ’ कांग्रेस चितवन सभापतिले भन्नुभयो,‘ निर्वाचनबाट अधिनायकवादी हावी भएभने नेपालबाट लोकतन्त्र पनि जानेछ साथमा शान्ति,विकास र समृद्धिको सपना पनि अधुरो रहनेछ, जनताले अहिले उपभोग गरिराखेको अधिकारकालागि फेरि आन्दोलन गर्नपर्नेछ।’

उहाँले नेपाली कांग्रेसले जनताले चाहेजस्तो संविधान ल्याइसकेको हुनाले कांग्रेसले जितेपछि राजनीतिक अलमल नहुनाको साथै सरकार र संघीय तथा प्रादेशिक संसद सहित स्थानीय तह एकसाथ विकास निर्माणमा जुट्दा देशको विकास तीव्र गतिमा भएर विकासका माध्यमबाट जनतालाई समृद्ध बनाउन सकिने पनि दावी गर्नुभयो । कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्