कुनैपनि दलको पक्ष विपक्षमा नरहेको निर्वाचन आयोगको स्पष्टोक्ति




सैघाली खबर
काठमाडौं,१८मंसिर

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले हाजिरी जवाफ कार्यक्रम गरेको निर्वाचन आयोगको भनाइ छ ।

हाजिरी जवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवाला बाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ ।

हाजिरी जवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्री देखि विभिन्न राजनीतिक दलका अध्यक्ष एवम् शीर्षनेता तथा अन्य उम्मेदवारको नाम उल्लेख भएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

एउटै भागमा सबै उम्मेदवारको नाम समावेश गर्न सम्भव नभएकाले सबै भागमा कुनै न कुनै उम्मेदवारको नाम समावेश होस् भन्ने मनसायले नाम समावेश भएको उहाँले बताउनुभयो ।

हाजिरीजवाफको प्रसारण भइसकेको पहिलो भागमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र योगेश भट्टराईको उम्मेदवारी कहाँ कहाँ छ ?भनेर प्रश्न समावेश भएको तथा दोस्रो भागमा राजेन्द्र महतो, आरजु देउवा र नवराज सिलवालका बारेमा प्रश्न समावेश भएको आयोगले स्पष्ट पारेको छ ।

यसैगरी, तेस्रो भागमा उम्मेदवार गगन थापा, रवीन्द्र मिश्र र विश्वप्रकाश शर्माको उम्मेदवारीबारे र चौथो भागमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र पम्फा भुसालको नाम समावेश गरिएको निर्वाचन आयोगले जानकारी गराएको छ ।

आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्