बहराइनमा ३३१ नेपाली संक्रमित, कतारमा मास्क नलगाए कडा सजाय



काठमाडौं – कतारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको लडाईंलाई कडा बनाउन अनिवार्य मास्कको व्यवस्था लागू गरेको छ । घरबाट बाहिर निस्कँदा मास्क नलागाएमा दुई लाख कतारी रियाल वा तीन वर्ष जेल मध्ये एउटा सजाय हुने छ । एक्लै गाडी चलाएर घर बाहिर निस्कनेले पनि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ ।

यसैबीच बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या ३ सय ३१ पुगेको छ । यसअघि २ सय ४५ जना संक्रमित रहेको बहराइनमा आइतबार थप ८६ जना नेपालीमा संक्रमण देखिएको हो । बहराइनस्थित नेपाली दूतावासले संक्रमितहरुको संख्या बढेपनि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ ।

भिसा अवधि सकिएर पनि स्वदेश फर्किन नसकेका नेपालीहरुलाई खानाको समस्या नहोस् भनी नेपाली दूतावास, स्थानीय नेपालीका संघ संस्थाले सहयोग गरिरहेको बताएको छ । बहराइनमा करिब ३५ हजार नेपाली रहेका छन् । आइतबारसम्म त्यहाँ संक्रमितहरुको संख्या ३ हजार ९ सय ७३ जना पुगेको छ भने १२ जनाको मृत्यु भएको छ ।

संक्रमित विदेशीहरुमा क्रमशः भारतीय, बंगलादेशी र पाकिस्तानपछि नेपालीको संख्या रहेको छ । सानो भौगोलिक क्षेत्रफल भएको बहराइनमा कामदारहरूको बस्ने कोठा पनि सानो हुने र कोचिएर बस्नु परेका कारण संक्रमण फैलिएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्