आज देखि मौन अवधि सुरु,आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेज



सैघाली खबर
काठमाडौं,१९ मंसिर

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दोस्रो चरणका लागि दल र उम्मेदवारले प्रचार तथा भोट माग्ने काम मंगलबार देखि गर्न नपाउने भएका छन ।
मतदान हुनु ४८ घण्टा पूर्व नै मौन अवधि सुरु हुने भएकाले कुनै प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । मतदान मंसिर २१ गते बिहीबार हुँदैछ। निर्वाचन आयोगले मौन अवधिमा प्रचार तथा आचारसंहित विपरीतका काम गरेको भेटिएमा उम्मेदवारी खारेजसमेत हुन सक्ने चेतावनी दिएको छ ।
‘निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा कुनै प्रकारले मतदातालाई प्रभावित पार्ने काम हुनुहुँदैन,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘यो समय मतदाताको हो, यस अवधिमा मतदाताले उम्मेदवारबारे अध्ययन गर्ने तथा मतदान कसलाई गर्ने भन्ने निर्णय लिने बेला हो ।’
प्रत्यक्ष प्रचार गर्न नपाए पनि यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले अनौपचारिक भेटघाट, घरदैलो, भोजभतेर तथा आर्थिक चलखेललगायत क्रियाकलाप गरी मतदाता प्रभावित पार्ने काम गरेको पाइन्छ। ‘आचारसंहिताविपरीत गरिने क्रियाकलाप प्रति आयोग सतर्क छ, यस अवधिका लागि प्रशस्तै अनुगमन कर्ता समेत परिचालन गरिएको छ,’ प्रवक्ता ढाकालले भने, ‘आचारसंहिता विपरीतका क्रियाकलाप देखिए अनुगमनकर्ताले कारबाही गर्न सक्छन, पैसा बाँडेको प्रमाण भेटिए उम्मेदवारीसमेत खारेज हुन सक्छ।’
राजनीतिक दल वा उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखेका प्रचार सामग्री समेत हटाउनुपर्ने उनले बताए ।
सामाजिक सञ्जालबाट समेत मौन अवधिमा भोट माग्न पाइन्न, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार गर्न हुन्न,’ उनले भने, ‘सञ्चार माध्यमले पनि मौन अवधिमा राजनीतिक दलको प्रचार हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन ।’ यसअघि पहिलो चरणको मौन अवधिमा सामाजिक सञ्जाल मार्फत प्रचार गरेको आरोपमा आयोगले केही नेतासँग स्पष्टीकरण सोधेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्