देशलाई अमेरिकी साम्राज्यबादको अखडा बन्न नदेउ, एमसीसी खारेज गर – १० बाम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा(माले) नेकपा(माओबादी केन्द्र) राष्ट्रिय जनमोर्चा, देजमो, नेकपा (संयुक्त) जन समाजवादी पार्टी नेपाल सहितका १० राजनीतिक दल तथा संगठनले एमसीसी खारेज गर्न र देशलाई अमेरिकी साम्राज्यादको अखडा बन्न नदिन जोडदार माग गर्दै संयुक्त बक्तब्य निकाले छन् ।
उनीहरुले आज एक संयुक्त वक्तव्य प्रकाशित गरी एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिको अंग भएको अमेरिकी राजदूतले नै स्पष्ट पारिसकेको बताउँदै त्यसलाई दृढतापूर्वक खारेज गर्नुपर्ने बताएका छन् । एमसीसी पारित गरिए नेपालको स्वतन्त्र परराष्ट्र नीति र सार्वभौमिकतामा समेत गम्भीर आँच पुग्ने वक्तव्यमा उल्लेख छ ।

संयुक्त वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

हामी निम्नलिखित पार्टीहरुले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)लाई नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा असंलग्न परराष्ट्रनीति समेतका विरुद्ध भएको ठहर गर्दै त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न माग गर्दछौं ।

एमसीसी हिन्द प्रशान्त रणनीति (इण्डो प्यासिफिक स्टाटेजी)को अंग हो र त्यो तथ्यलाई स्वयं अमेरिकाका कतिपय मन्त्री, उच्च अधिकारी तथा नेपाल स्थित अमेरिकन राजदुतावासले पनि सार्वजनिक रुपमा स्पष्ट गरिसकेका छन् ।

त्यसप्रकारको पृष्ठभूमिमा एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग नभएको बताउँदै त्यसलाई संसदद्वारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई हामीले कडा शब्दमा विरोध गर्दै त्यसको भत्र्सना समेत गर्दछौं ।

एमसीसी पारित भयो भने नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ, हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा सामेल हुन पुग्ने छ र त्यसको (अमेरिकी साम्राज्यवादको) अखडा बन्न पुग्ने छ । त्यसको परिणामस्वरुप नेपालको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने कुरा अवस्यम्भावी छ ।

त्यसकारण नेपालको राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन हामीले सम्पूर्ण जनता, राजनीतिक पार्टी, सांसद, संघसंस्था र व्यक्तिहरु समेतसित अपील गर्दछौं । अन्तमा हामी निम्नलिखित पार्टीहरुले एमसीसीलाई फिर्ता लिन सरकारसित जोडदार माग गर्दछौं । बक्तब्य हस्ताक्षर गर्ने दलहरु यस प्कार छन् :

१. मोहनविक्रम सिंह, महामन्त्री, ने.क.पा. (मसाल)
२. मोहन बैद्य (किरण), महासचिव, ने.क.पा. (क्रान्तिकारी–माओवादी)
३. सीपी मैनाली, महासचिव, ने.क.पा. (माले)
४. चित्रबहादुर के.सी., अध्यक्ष, राष्ट्रिय जनमोर्चा
५. सी.पी. गजुरेल, अध्यक्ष, देशभक्त जनगणतान्त्रिक मोर्चा
६. लोकनारायण सुवेदी, सहसंयोजक, नेपाल कम्युनिष्ट पार्टी
७. गोपाल किराती, अध्यक्ष, ने.क.पा. (माओवादी केन्द्र)
८. सुभासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
९. साध्यबहादुर भण्डारी, जनजागरण परिषद, नेपाल
१०. केदारचन्द्र शर्मा, महासचिव, नेकपा (संयुक्त)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्