पाँचथरमा वडाध्यक्ष सुहाङको दादागिरी, दलित युवकमाथि दुर्व्यवहार



इन्द्र नेपाली , तेह्रथुम । पाचथरको एक वडापालिकाको बैठकमा सहभागि हुन गएका दलित युवकलाई हिलिहाङ गाँउपालिका ५ का वडाध्यक्ष लक्ष्मि प्रसाद सुहाङले दुव्र्यवहार गरेका छन् । वडाध्यक्ष सुहाङले नेपाली काँग्रेस हिलिहाङ ५ का सचिव बिरबहादुर उभारकोटीलाई गाली गर्दै बैठकमा बस्नै नदिएका हुन् ।

काँग्रेसको प्रतिनिधित्व गर्दै उभरकोटी वडा कार्यालयको भवन निर्माणका लागि जग्गा सम्याउने बिषयको बैठकमा सहभागि हुन गएका थिए । वडाद्धारा आयोजित उक्त बैठकमा अध्यक्ष सुहाङले उभरकोटीलाई सहभागि हुन नदिएका हुन् । सुहाङले तथानाम गाली समेत गरेका छन् ।

‘पाटीको प्रतिनिधित्व गर्दै बैठकमा सहभागि हुन् गएको थिए,’ उभारकोटीले भने ‘वडाध्यक्षले मनपरी गाली गरेर बैठकमा बस्न दिनुभएन ।’ आफू दलित भएकै कारण वडाध्यक्ष सुहाङले तथानाम गाली गरेको उभरकोटीको भनाई छ । जातीय रुपमा होच्याउने शब्दहरु प्रयोग गर्दै वडाध्यक्षले गाली गरेको उनको भनाई छ ।

बैठकमा दलको सहभागिताका लागि प्रतिनिधि पठाइदिन वडाबाट फोन आएपछि आफूले पार्टी सचिव उभरकोटीलाई पठाएको काँग्रेसका वडा सभापति देवीप्रसाद योङहाङले बताए । ‘बैठकमा सहभागि हुन गएका काँग्रेस सचिवलाई वडाध्यक्षले दुव्र्यवहार गरेका छन्,’ सभापति योङहाङले भने ‘काँग्रेसको प्रतिनिधिलाई वडाध्यक्षले गाली गरेर बैठकमा बस्न नदिएकोप्रति हाम्रो गम्भिर आपत्ति छ ।’

सुहाङले उभरकोटीलाई गाली गरेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा उभरकोटीलाई तथानाम गाली गर्दै बैठक कक्षमा प्रवेश गर्नै नदिने भनेर सुहाङ चिच्याएका छन् । ‘उभारकोटीलाई बैठकमा बस्नै दिन्न,’ नराम्रो शब्द प्रयोग गर्दै सुहाङ चिच्याएका हुन् ।

आफूले बोलाएको मान्छे नआएर काँग्रेसबाट अर्कै मान्छे पठाएकाले बैठकमा बस्न नदिएको सुहाङले बताए । ‘उभरकोटीलाई बैठकमा मैले बोलाएको हैन,’ सुहाङले भने ‘काँग्रेसबाट मैले बोलाएका मान्छे नआएपछि उसलाई बैठकमा बस्न नदिएको हो ।’

गाली गरेको भिडियो सार्वजनिक भएपछि सुहाङलाई फोन सम्पर्क गर्दा उनी पत्रकारमाथि नै जंगिएका थिए । फोनमा कुरा गर्दै उनले समाचार लेख्दैमा आफ्नो पुच्छर पनि नहल्लिने भनेर जंगिए । ‘समाचार लेखेर केही हुनेवाल छैन,’ सुहाङले भने ‘एफएम र पत्रकारले लेख्दैमा केही हुँदैन ।’ निकै प्रतिष्ठित मान्छेलाई पनि आफूले नपत्याउने गरेको सुहाङको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्