जनता रोग र भोकको चिन्तामाः तस्करहरु प्रकृति दोहनको धन्दामा



काठमाडौं । राप्ती नदीमा अवैध उत्खनन् डरलाग्दो गरी बढेको छ । लकडाउनका कारण जनता अहिले सास्तीमा छन । स्थानीय सरकारहरु पनि लकडाउनकै ब्यवस्थापनको चापमा छन्, यही मौका छोपेर राप्ती नदीमा अवैध उत्खनन् डरलाग्दो गरी बढेको भेटिएको छ ।

पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् ।

यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर र तीन वटा डोजर नियन्त्रणमा लिएको छ । पुलनिजकबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको बेला गाउँपालिकाले नियन्त्रणमा लिएको हो ।

अध्यक्ष सहजराम यादवको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको छ । गाउँपालिकासँग कुनै सम्झौता नभएकाले अवैध उत्खनन् गर्ने गाडी नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

पछिल्लो समय राप्ती नदी आसपासमा स्थापना भएका क्रसरहरुले राप्ती नदीमा दोहनको आतंक नै मच्चाएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिनुभयो ।

‘डोजर टिप्पर मात्र होइन अब वास्तविक खेलाडीलाई कठघरामा उभ्याउनुपर्छ’– उहाँले भन्नुभयो– ‘कारवाही नहुने अवस्था आए जनताले सेटिङमा संलग्नहरुको नाम सार्वजनिक गर्न बाध्य हुनेछन्, यो चरणमा पुग्न नपरोस् ।’

स्थानीय तहले नियन्त्रणमा लिए पनि प्रहरी प्रशासनले कारवाही गर्ने नगरेको यसअघिदेखि स्थानीयले गुनासो गर्दै आएका छन् । –तस्बिर र समाचार  सिस्ने अनलाइनबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्