आठ दिनभित्रै सबै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी



सैघाली खबर
काठमाडौं,२० मंसिर

निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।


मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ । मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छौँ ।’

स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ ।दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार मतदान हुँदै छ । यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो ।

दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ ।आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना बिहीबार दिउँसोबाट सुरु गर्ने आयोगको तयारी छ । दोस्रो चरणमा बिहीबार ४५ जिल्लाका १५ हजार ३४४ केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।

सबै मतदान केन्द्रमा मंगलबार नै आवश्यक सुरक्षाकर्मी पुगिसकेको आयुक्त पौड्यालले जानकारी दिए । उनले भने, ‘मतदान केन्द्रका साथै मतपेटिका र मतगणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्