वडाध्यक्षले बाटोमा घर बनाउँदा विवाद, दुई पक्षबीच झडप हुँदा एकको मृ त्यु



काठमाण्डौँ, जेठ ११
सप्तरीको डाकनेश्वरी नगरपालिका– ९ सखुवामा छिमेकीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। छिमेकीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका डाकनेश्वरी नगरपालिका-९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा शनिबार राति न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

आफन्तका अनुसार शनिबार साँझ उपचारका लागि मण्डललाई सुरुमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लगिएको थियो।

डाकनेश्वरी नगरपालिका- ९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा भएको विवादले उग्र रूप लिँदा घटना भएको स्थानीयको भनाइ छ। विवादमा स्थानीय मेहता र मण्डल परिवारबीच झडप हुँदा घटना भएको हो।

झडपमा परी मण्डल घाइते भएका थिए। पीडित परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कुटपिट गरेको आरोप लगाएका छन्। वडाध्यक्षले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै मण्डल रोक्न गएपछि सुरु भएको विवादले उग्ररूप लिएको प्रत्यक्षदर्शीको भनाइ छ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ। कुटपिटबाट सुखदेव मण्डलको मृत्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आरोपितहरूको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

यसअघि गएको २३ वैशाखमा भएको कुटपिटमा घाइते भएका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ८० वर्षीय सुविलाल यादवको बिहीबार मृत्यु भएको थियो। उपचारपश्चात् वैशाख २७ गते डिस्चार्ज भई घरमा बसेका वृद्धको मृत्यु भएको आफन्तको भनाइ छ। घटनामा संलग्न एकजनाविरुद्ध उजुरी परेको भारतीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्