कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द



काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना महामारी संक्रमणका विषयमा बिना तथ्य समाचार सामग्री सम्प्रेषण गर्ने विद्युतीय तथा छापामाध्यमहरुलाई कारबाहीको दायरामा ल्याएको छ ।

काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण माग्ने सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको छ ।

कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई प्रेस काउन्सिल नेपालले बन्द गरेर कारबाही गरेको छ ।

गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा कोरोना संक्रमणको विषयमा समाजमा अपवाह फैलाउने अनलाइनहरु बिना दर्ता तथा काउन्सिलको बिना अनुमति नै भेटिएपछि बन्द गर्दै कडा कदम चालेको हो ।

काउन्सिलका अनुसार नेपालभित्र प्रसारण तथा प्रकाशन बन्द गरिएका अनलाईनहरुले कोरोनाबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, लकडाउन खुलेकोलगायत भ्रामक समाचार सम्प्रेषण गरेको जनाएको छ ।

पत्रकार आचारसंहिता नै नबुझि समाजमा भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइनहरुको अनुगमन गरी काउन्सिलले कारबाही गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ बताउँछन् ।

बन्द अनलाइनहरु लकडाउनपश्चात् दर्ता गर्ने वातावरण खुलेको तथा जिम्मेवारीपूर्ण समाचार सम्प्रेषण गर्ने विश्वास काउन्सिलको छ ।

काउन्सिलले पत्रकार आचारसंहिता विपरित काम गर्ने ५९ वटा सञ्चारमाध्यमलाई स्पष्टिकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी दिएको छ ।

प्रतिष्ठित अनलाइन तथा सञ्चारमाध्यमहरुसमेत काउन्सिलको कारबाहीमा परेका छन् ।

काउन्सिलका अध्यक्ष श्रेष्ठले झुठा समाचार सम्प्रेषण गरी समाजलाई भ्रमित बनाउने सञ्चारमाध्यहरुलाई सचेत तथा कारबाही गर्ने कामलाई निरन्तरता दिने बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्