के नवराज बिकले प्रेम गर्नु अपराध थियो ?



रमा नेपाली । रुकुममा भएको यो घटनाले आम नागरिकलाई रुवाएको छ । जातीयता कै आधार कलिला युवाहरुको ज्यान गएको छ । जीवन त आखिर सबैको छ नि हैन र? के नवराज बिकले प्रेम गर्नु अपराध थियो ?

जब टीकाराम विश्वकर्मा, नवराज विश्वकर्मा र गणेश बुढा मगर को फोटो हेर्दा मनमा औडाहा हुन्छ, छटपटी हुन्छ, आँखा भरी आँसु हुन्छ, आफुलाई सम्हाल्न गाह्रो हुन्छ। यो समस्या दलित समुदायको मात्र हैन आम दलित र गैरदलितलहरुको समस्या हो । तर कहिले बुझ्ने गैरदलितहरुले?

यहाँ हेर्दा देखिन्छ यो समस्या दलितहरुको मात्र हो र समाधान पनि दलितले मात्रै गर्छन् । तर यो त राज्य कै समस्या हो । किन भने दलितले मात्र आवाज उठाएर हुदैन यसमा गैर दलितको पनि ठूलो साथ सहयोग चाहिन्छ ।

उपल्लो जातको बाहुल्यता छ, तसर्थ गैरदलितहरुले दलित भन्ने शब्दको अन्त्य र जातिय विभेदको अन्त्य गर्न चाहे भने यो सोतह अन्त्य हुने छ । यो कुरामा दलित भन्दा गैर दलितले साथ दिए भने यसको अन्त्य हुन्छ तर त्यसो गर्नुको साटो अझै भयानक घटना हरु घटिरहेका छन्।

दलित भएकै कारण कतिले ज्यान गुमाउनु परेको छ । यस्ता घटना नेपालका विभिन्न ठाँउमा हुँदै आएको छन् ।कहिले धारा छोएको न्युमा कहि बोक्सी त कतै यस्तै प्रेम का घटनाहरु थुप्रै छन् ।

यी घटना पहिले देखि हुँदै आएका छन् । यसमा नेपाल सरकारले आज सम्म चासो देखाएको छैन । कहिले सम्म यस्तो हत्या हिंसा सहने हामी दलित ले? जब सम्म जातीय युद्ध हुदैन तब सम्म जातीय विभेद पनि हट्दैन ।

जसरी सति प्रथाको अन्त्य भयो त्यसरी नै जातीय विभेद पनि अन्त्य हुन जरुरी छ । अन्यथा हाम्रो अस्तित्व समाज मा के त? त्यसैले यो विषय मा सरकार को ध्यान जाओस् ।

एउटा छोरा गुनाउनुको पीडा त्यो बा आमालाई थाहा हुन्छ जस्ले बर्षौ देखि त्यही छोराको खुशिका लागि संघर्ष गर्दै आएको छ । घटना सानोतिनो हैन मान्छेको ज्यान गएको छ । अब के नवराजलाई फिर्ता ल्याउन सकिन्छ ? मान्छेको जिन्दगी भन्दा अमुल्य अरु के चिज छ संसारमा?

दलित भएकै कारण दमन कति सहने ? यदि नवराज र सुष्माको जात मिल्थ्यो भने १८ जना हैन ४० जना गएर केटि ल्याएको भएपनि मेलमिलाप गराउथे होला तर यहाँ गाउँलेहरु नै उर्लिएर खेदाएका छन् हत्या गरेका छन् ।

१८ जना केटा भएर केटि लिन जादाँ लकडाउन उल्ङ्घन भएको छ, तर सिंगो गाउँ भेला भएर मान्छे मार्दा लकडाउन उल्ङ्घन भएको छैन । यहाँ धेरै शंकाका बिषय छन् । जो निष्पक्ष छानबिन हुन जरुरि छ ।

कयौं टिकाटिप्पणीहरु भएका छन् सामाजिक संञ्जाल भरी कि रातिमा केटि लिन हैन गुन्डागर्दी देखाउन गएको हो भन्ने यदि गुन्डागर्दी नै देखाउथे भने सबै केटाहरुले केटि पक्षकालाई मार्थे होला केटि भगाउन दिएनन् भनेर तर यहाँ त उल्टो भएको छ ।

शंकाको बाटोहरु धेरै छन् । कतै केटीलाई दबाब दिएर घरमै बोलाउन लगाईयो? किन प्रेमीलाई घर बोलाईन् ? थुप्रै प्रश्नहरु छन् ।

भाग्ने नै भए दुईजना मात्रै भाग्थे होला । चाहे राती होस् चाहे दिउँसो जसरी नि भागीहाल्थे । नवराजले पनि आफ्नो सुरक्षाका लागि रातको समयमा केहि शंका लाग्यो होला के पो हुने हो भन्ने भयो होला अनि लगे होलानी साथीहरु, न त नवराज दोषी छन् नत उनका साथीहरू नै, तर के को सजाय पाए यिनिहरुले ?

आज दलित समुदायमा जन्म लिएर आफैलाई हिनताबोध भएको छ । जसले सन्तान गुमायो त्यो पीडा कस्ले बुझ्ने?
सामाजिक संञ्जालमा कतिपयले हिरो बन्न गएको मर्‍यो ठिकै भयो भन्ने सम्म लेखेका छन् । रातको समयमा केटि भगाउने आउने, मेरो परिवारमा १८,२० जना भएर राती आउथे भने टाउको छिनाएर फुटबल खेल्छु भन्ने सम्म लेखेका छन् , के यो न्यायपुर्ण छ?

यदि आफ्नो छोरी चेली त्यति प्यारो लाग्छ भने नवराज पनि त कसैको छोरो हो के उस्को जिन्दगी हैन? उस्को परिवारको लागि उ प्यारो छैन्? उसले समाजमा बाच्न पाउने अधिकार छैन? कति सपना थिए होला भबिष्यका आज ती सपना सबै टुटेका छन् । दलित भएर जन्मनु गल्ती हैन तर दलित भएकै कारण हेपिनु दबिनु भनेको हिंसा हो ।

आजको २१ औं शताब्दी पनि छुवाछूत कै कारण दलित भनेर मारिनु सानो कुरा होईन । नेपालमा कयौं घटनाहरु छन् जसले दलित भएकै कारण बिना कसुर सजाय भोगी रहेका छन् ।

यदि कोहि हिरो हिरोईनको केही स्टाटस हुन्थ्यो भने कति आवाज उठ्थे तर आज एउटा दलित समुदायको ब्यक्ति मर्दा कस्ले आवाज उठाउने ? यसको मतलब कोहि नबोलेको भन्ने हैन तर जति बोल्नु पर्ने हो जति आवज उठ्नु पर्ने हो त्यो देखिएको छैन ।

पीडा भोग्नेलाई मात्र महसुस हुन्छ । अहिले नवराजको परिवारको पीडा कस्ले हेर्ने? प्रेम कै कारणले एक बाउ आमाको काख रित्तिएको छ । हजारौं आशाहरु मरेका छन् । जिउने खम्बा भाचिएको छ ।

दलितको रतग चल्ने, श्रम चल्ने, दलितको पसिना बिक्ने, पैसा चल्ने तर पानी र प्रेम कसरी नचाल्ने? कठै हामी बाचेको समाज, हाम्रा हरेक भनाईहरु भनाई नै रहे कार्यान्वयन भएनन् ब्यबहारिक भएनन् । के राखेको छ जातमा? कहिले बुझ्ने सिंगो समाजले सबै नागरिक एक हौं भनेर ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्