रुकुम घटना : हिउँ पग्लिएर नदी धमिलो भएकाले गोताखोरलाई बेपत्ता खोज्न कठिन




जाजरकोट : हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

घटना भएको पाँच दिनसम्म पनि हराएका सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएका र संकास्पद स्थानमा छामेर खोज्नु परेको गोताखोर टोलीको नेतृत्व गरेर आएका शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले बताए । उनले भने, ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानी कै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।’

अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको बस्तु खोज्न सक्ने तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ छ । पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले बताए ।

हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बेपत्ता नदीमा डुबेको हुन सक्ने आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए । गत १० जेठमा भएका घटनामा भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दिप बिक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज बिक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यसअघि नै फेला परिसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्