सर्लाहीमा दुई जना पत्रकारसहित थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौँ । सर्लाहीमा शुक्रबार दुई जना पत्रकारसहित थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकाम मलङ्गवाबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा कार्यरत ३० वर्षीया महिला पत्रकार र मलङ्गवाकै एक पत्रिका एवम् रेडियोमा कार्यरत २६ वर्षीय पुरुष पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो । केही दिनअघि सदरमुकाम मलङ्गवामा पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्स चालकसहित २९ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पाइएको हो ।

यस्तै, जिल्लाको कौडेना गाउँपालिकाका दुई जनामा पनि कोरोना सङ्क्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका २१ र १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार कौडेनाबाट स्वाब पठाइएको ४५ जनामध्ये दुई जनामा सङ्क्रमण देखिएको हो । चारै जना सङ्क्रमितलाई मलङ्गवास्थित नर्सिङ्ग कलेजमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

शुक्रबार चार जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्लाहीका अहिलेसम्म ४४ जनामा सङ्क्रमण पुष्टि गरेपनि गोडैता नगरपालिकानिवासी भनी नाम, ठेगाना उल्लेख गरिएका एक जनाको अझै पहिचान भएको छैन ।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा मात्रै २५ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सदरमुकाम मलङ्गवामा नौ जना, हरिवन, बाग्मती, कविलासी र हरिपूर्वा नगरपालिका तथा रामनगर गाउँपालिकामा एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्