जन्मेदेखी दलितको बिल्ला हामीलाई समाजले भिराइदिएको हो ?




समाजले नै हामीलाई जन्मेदेखि दलित हौ भनेर बिल्ला भिराइदिएको छ।जसले गर्दा कथित उपल्लो जातको घरमा जानू नै हुँदैन भन्ने दिमागमा भरिएको छ।र नयाँ पुस्ताका कथित माथिल्लो जात भनिनेहरू पनि त्यही चपेटामा पर्नु भएको छ।जातीय विभेदको अन्त्य भनेको यहाँ घरभित्र जान दिनुपर्छ!छोरी बिहे गरेर अन्माइदिनु पर्छ!बुहारी बनाउनै पर्छ भन्ने होइन।मात्र प्रत्यक्ष- अप्रत्यक्ष रुपमा तँ सानो जातको मान्छे भनेर नभदिनुहोस्।असल व्यवहार गरिदिनुहोस् ।माया प्रेम गर्नेहरूलाई जातकै कारण नछुटाउनुहोस्।

फेरि धेरैले बजारको ठाउँमा बसेर यहाँ त जातीय विभेद छैन भन्नुहोला।` `देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ पीडा कर्णालीका ती विकट ठाउँमा बस्नेहरूका पीडा हेर्नू पर्छ, धेरै छन् त्यस्ता उदाहरणहरू।जातीय विभेदका कारण जुन किसिमका घटनाहरू घटिरहेका छन् ।ती अहिले मात्र होइन, पहिले पनि घट्थे।तर पहिला आवाज उठाउने कोही थिएन।जसले गर्दा विभेदले हद नै नघिसकेको छ।

धेरैलाई चासोको विषय “दलितको आरक्षण” यो एउटा अवसर हो।फेरि भन्नुहुन्छ धनीले मात्र पाउँछन्!हो धनीले पाउँछन् गरिब दलितमा त्यो चेतना र शैक्षिक उन्नति ल्याउनमा पहिला धनी दलितले त्यसलाई प्रयोग गरेर गरिब दलितसँग हातेमालो गर्नु पर्छ।सबैको समान पहुँच हुन्छ अनि त्यो पनि हटाउला।

सरकारले राउटेलाई एम.बि.बि. एस् पढ्नेलाई पूर्ण छात्रवृत्तिको घोषणा गरेर त्यसको औचित्य कति छ ? त्यो आफैले मूल्यांकन गर्न सकिन्छ।फेरी धनि कथित गैरदलित मित्रहरु! तपाईहरू पनि महिला कोटामा जागिर खान तछापछाड गर्नु भएको छ नि होइन र? आफूले पाउने अधिकारबाट तपाईहरू पछाडि हटेर गरिब,पिछडिएकी महिलालाई दिनु भएको छ कि!! ” आफ्नो आङ्को जुम्रा नदेख्नेले अर्काको आङ्को लिखो देख्नु पनि पाप हो”भन्न र व्यवहारमा उतार्नुमा धैरै फरक छ।

कथित दलित समुदायको व्यक्ति अन्यायमा पर्दा बित्तिकै जातीयतामा लगेर जोडिन्छ भन्नेहरुले कुरा बुझ्न जरूरी छ।कुनै विश्वविद्यालयमा पढ्ने क्षमता बन्यो भने त्यही भनिन्छ ” तिमी बि. क हो र?” तिमी त बि. क जस्तो पनि देखिदैनौ।मैले त पत्याइन।आदि “नराम्रो भयो भने कस्तो तल्लो जातजस्तो ” गाली गर्दा पनि कमिनीकी छोरी घरमा आइज खुट्टा भाच्छु यसरी कथित माथिल्लो जात भन्नेहरूले नै प्रयोग गरिदिनु हुन्छ। अनि हामीलाई लाग्छ पछाडी बि.क,परियार,डुम,नेपाली,गन्धर्व अादि जोडिएकाहरू जति अन्यायमा परेका छन् तिनीहरूलाई न्याय हामीले नै दिनुपर्छ।पछाडि यी जात भएका कारण नै हामी शारीरिक रुपमा पनि राम्रो/ राम्री हुनु पर्ने!कालो/ काली हुनै नहुने!अलिकति व्यवहारमा नराम्रो बन्न चुकियो भने तल्लो जातको ठहरिनेकथित माथिल्लो जातले नराम्रो काम गर्यो भने तँ कामी ,दमाई जस्तो भइस् भनेर गाली गर्ने पनि यही समाजमा जीवित छन् ।

अहिले रुकुम-जाजरकोटको घटनामा पनि बि.क थर भएकाले नै कथित गैरदलित मित्रले नै भन्नु हुन्छ “तपाईहरू लागिपर्नु,दोषीलाई कारबाही,पिडकलाई न्याय दिलाउनुहोस्” अब भन्नुहोस् यहाँ मारिएको वि. कलाई हो कि? मानवलाई??लड्नु पर्ने हामी मात्र? न्यान दिनु पर्ने हामीले?

अनि हामी किन चुप लाग्नु हाम्रो समुदाय अन्यायमा पर्दा
यो त तिनीहरूले नै हाम्रो दिमागमा भरिदिएका छन्।जे भएको छ यहाँ दलित भएकै कारण भएको छ।आरक्षण दलितले मात्र होइन सबैले पाएका छन्।यसमा कुनै डाहा नगरौँ।गरिबको आधारमा दिने हो भनेपनि सबै महिला,जनजाति,मदेशी,दलित,विकट क्षेत्र सबै काटिनु पर्छ।दलितले खाएको त्यही ९% मा कसैको नजर नजाओस्।मानसिक रुपमा यातना खेपेको हाम्रो मस्तिष्क निको हुनको लागि धेरै समय लाग्ने छ।जबसम्म हामी शैक्षिकरुपमा सक्षम हुँदैनौ तब सम्म आरक्षण आवश्यक भइनै रहन्छ।शिक्षित वर्गले अशिक्षितलाई सहयोग गर्दै हातोमालो गर्नु पर्छ।अनि कलमले पनि बोलिन्छ र अन्याय अत्याचारको विरोध लडिन्छ।

कोरोनाको कारण अलिकति मान्छे र समाजबाट टाढिएर के बस्नु परेको छ,यसबाट धेरैको टाउको दुखाइ हामी बर्षौदेखि यसरी नै बाँचेका छौँ कसको चासो?? कठै! मेरो समाज

( सबै कथित गैरदलित मित्रहरूलाई पनि भन्न खोजिएको होइन,कोही एकदमै सकारात्मक धारणा भएका पनि हुनहुन्छ,तपाईहरूको यो विचारलाई नमन)

अन्जना बि.क बुटवल, रुपन्देही हाल तनहुँ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्