भारतमा एकैदिन फेला परे ९ हजार कोरोना भाइरस संक्रमित



काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । भारतमा बुधबार पछिल्लो २४ घण्टा अवधिमा ८ हजार ९०९ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ७ हजार ६१५ जना पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी, कोरोना भाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ५ हजार ८१५ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभर अहिले पनि १ लाख १ हजार ४९७ जना संक्रमितअवस्थामै रहेका छन् । त्यसैगरी, १ लाख ३०३ जना संक्रमणमुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बुधबार बताएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७२ हजार ३०० जना संक्रमित भएका छन् । भारतमा पछिल्लो समयमा लक डाउन खुकुलो बनाउदै लगिएको छ । परीक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरुको संख्या सोही अनुपातमा बढेको देखिएको अधिकारीहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्