सदियौ देखी तिमीहरुबाटै हामी पिडित छौ

आज बोल्नै मन लाग्यो,लेख्नै मन लाग्यो


 

आज बोल्नै मन लाग्यो,लेख्नै मन लाग्यो,आज सामाजिक विषयमा बहस गरौ ।
-केही साथीहरुले जातिय छुवाछुत अन्त्यको जड आरक्षणलाई लिएका छन् । आरक्षण भन्दा अघि छुवाछुतले अझै गहिरो जरा गाडेको थियो भन्ने कुरा हामी विच छर्लङग छ। मानौ आरक्षणले गर्दा छुवाछुत गरेका हो भने कुरा अति भएर भन्दा पनि पुर्वाग्राही भावनाले आएको देखिन्छ। प्रिय साथी तिमीले घरकी श्रीमतीलाई विभेद गर्न सक्छौ र ? आरक्षणमा पास भएको भनेर छुवाछुत गरेर घरबाट निकाल्न सक्छौ र?
-आरक्षण गरिबी उन्मुलनको कार्यक्रम होइन। सदियौ देखी विभेदमा परेका समुदायका लागि लिएको कार्यक्रम हो।
-अधिकांश दलितहरुलाई राज्य हाम्रो पनि हो रहेछ भन्ने थाहा भएको आरक्षण प्रणाली लागु भएबाटै हो । आरक्षण आए पछि न, पढ्नु पर्ने रहिछ भन्ने थाहा भो। पढेपछि आरक्षण रहिछ भन्ने थाहा भो। आरक्षणमा पास भएसी खुलामा पास हुनुपर्ने चेतना आएको छ। आफ्ना भाईबहिनीलाई, सन्ततीलाई पढाउनु पर्ने रहिछ, पढिदिए हुन्थ्यो भन्ने चाहना बढेको छ। मेरो समुदायले म बाट केही सिकेको छ, सिकिदिए हुन्थ्यो भन्ने छ । तर अहिले पनि आरक्षण छ भन्ने कुरा केही दलितलाई थाहा नै छैन ।
-मेरा प्रिय साथी म आरक्षणमै भए नि पास भए र त तिमीले म सग सजिलो गरि चिया पिउछौ । घरमा अप्ठ्यारो भए नि अफिसमा सहज बन्छौ । यि तिमी र म मा आएको परिवर्तन होइन र ?
-राज्यले माछा दिएको भए म पोलेर खान्थे,पकाएर खान्थे तिम्लाई मलाई टन्टै हुन्थेन तर माछा मर्ने जाल दिएको छ मैले पनि तरिका मिलाएर परिश्रम गर्ने सिकेको छु।
-कम्तीमा यो कोरोनाको संकटमा मेरो घरको नाम वडाको राहातको नामवलीमा परेको छ्रैन। तिम्ले दिईरहनुपर्ने मैले लिई रहने परिस्थितीमा के परिवर्तन भएको होइन र ?
-आरक्षण प्रणालीबाट प्रवेश गर्ने महिला ३३ प्रतिशत, आदिवासी जनजाती २७ प्रतिशत,मधेसी २२ प्रतिशत जस्ता कोटा छन् तर जहिल्यै ९ प्रतिशत दलित कोटाको आखिर किन विरोध हुन्छ।
-आरक्षणमा पास हुन नी साथी हो लोकसेवाले निधार्राण गरेको कोर्स सतप्रतिशत जान्नै पर्ने रहिछ। पास गर्र्ने मान्छे नपुगेर कोटा खाली गएको मलाई थाहा छ तर अकं नपुगेको मान्छेलाई लोकसेवाले पास गराएर सिफारिस गरेको मलाई थाहा छैनन्। थाहा भएकोले मलाई भनी दिनुहोला।
-महिला भित्रको आरक्षणमा अधिकाश ब्राहमणक्षेत्री भित्रका महिलाहरु नै अग्रस्थानमा पास हुन्छन् । हाम्रा दिदिबहिनी, श्रीमती, छोरीले अवसर पाएका छन् भन्ने कुरा हेक्का पनि गर साथी हो ।
-आरक्षण हामी कहाँ शुरुवात भएको एक दशक पुग्यो। हामीले अझै जंगली जिवन विताएका राउटे,कुसुन्डा,चेपाङ,थामी, लेप्चा, राजी, मेचे, बनकारीया, झाँगड, माझी जस्ता जातीहरुलाई राज्यको मुलधारमा ल्याउन सकेका छैनौ । त्यतिबेला सम्म त कतिलाई १०४ डिग्रीको ज्वरो नै आउछ होला।
-आरक्षणमा पास भएर जानेहरु प्राय आफनो स्कुल,कलेज जिवनमा पढेर टपेका वा Class मा राम्रो नम्बर लिएर पास भएका हरु छन् । लोकसेवा कसरी पढ्ने भन्ने तौरतारीका थाहा नपाएर पछि परेका हुन।
केहि नेता,बौद्धिकवर्ग, पत्रकारले सधै ४० अकं लिएर पास भएको बोले,लेखे तर आरक्षणले दलित समुदायमा कस्तो प्रभाव पा¥यो भनेर कहिल्यै लेखेनन् । देशको सम्रग विकासमा कसरी सहयोग पुग्यो भनेर सोधी खोजी गर न हो जान्ने बुझ्ने ।
-आरक्षण सधै भैदियोस् भन्ने हाम्रो पनि इच्छा होईन। अफिस पस्दा आरक्षणको रहिछ भनेर नाक खुम्चाएको हामीलाई हेर्ने मन छैन । तर स्थानीय तहको समान परिक्षामा कतिपय ठाउँका दरबन्दी खाली गए । परिश्रम गर्नको लागि ढोका खुल्ला नै छ साथी हो । कागले कान लायो भनेर कागकै पछि नदुर्गरौ कान समातौ।
-लोकसेवाका ट्युसन क्लास, किताब पसल र लोकसेवाको फर्म भर्दा बेरोजगारीको दर चर्काे देखिन्छ तर यसको तुलनामा लोकसेवाको परिक्षामा चर्काे प्रतिस्पर्धा देखिदैन।
-राज्यले पनि कलेज टप गर्ने उच्च कोटीका विधार्थिलाई सिधा जागिरको नियुक्ति दियोस् यसमा हाम्रो केही आपत्ती छैन। तर जो होचो उसकै मुखमा घोचो नगर साथी हो। सदियौ देखी तिमीहरुबाटै हामी पिडित छौ ।
-हामी भित्र पनि आरक्षण चाहिन्न भन्ने छन् यो राम्रो पक्ष हो तर २ प्रतिशत घरना दलितको जिवन मुल्याकंन गरेर ९८ प्रतिशत दलितलाई पछि नपारियोस् नगरियोस्।
-दलित भित्रका नेता,बुद्धिजिवीले आरक्षणका बारेमा नबुझेर होकी नबुझे झै गरेर हो यसमा तार्किक बहस नगरेको देखेर दुख लाग्छ।
-साथी हो आरक्षण प्रणाली लागु भएसम्म हामी छुवाछुत गर्छो भन्नेहरुलाई मेरो चुनौति, आमा दिदी बहिनी र श्रीमतीलाई छुवाछुत गरेर अस्वीकृत गरेर देखाओ होईन भने यो रोईलो बन्द गर । तिमीहरु जस्ता मानसिक रोगीलाई यो भन्दा धेरै मेरो भन्नु केही छैन। भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ हो, समात्न सकिन। पाठ्यक्रममा,परिक्षाका कपीमा,थेसिसमा,गुगलमा पनि लेख्नु नेपाल सगरमाथा भएको देश त हो तर यहाँ हामीले जातिय छुवाछुत गर्ने पिधँका मानिस पनि छन् । शान्ति प्रिय बुद्धको देश त हो तर अन्तरजातिय माया गरे कै निउँुमा नवराजहरु जस्ता निर्दाेष व्यक्ति भेरीमा बगाइने कुरा पनि छन् गर्वका साथ लेख्नु । हो नेपाल नै हो भनेर लेख्नु। नम्बर धेरै पाउन मात्र आर्दश नछाट्नु। नम्बर दिने मान्छेले पनि यसको लागि छुट्टै नम्बर छुट्याउनु।

कमला परियार

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्