स्थानिय स्तरमा दलित उत्पिडन : असर र भ्रम




माधव छन्त्याल
दक्षिण एसियाको जात व्यवस्था र जातीय उत्पिडन :
दक्षिण एसियामा रहेको हिन्दु समाज व्यवस्था भित्र कामका आधारमा विभिन्न समुह छुट्याइएको हुन्छ । अर्थात निश्चित काम गर्ने समुह निश्चित हुन्छ र अनुल्लंघनिय हुन्छ, सोहि निश्चित समुहलाई जात भनिन्छ । जातीय भन्नाले जातको बारेमा वा जातका आधारमा भनि बुझिन्छ । उत्पिडन भनेको पिडा, जलन, दुःख दिने वा भोग्ने भन्ने बुझिन्छ ।

जातीय उत्पिडनको अर्थ दक्षिण एसियामा जातका आधारमा एउटा जातले अर्को जातलाई हेप्ने, दुःख दिने, पिडा दिने वा दमन गर्ने भन्ने बुझिन्छ । हामिलाई लाग्न सक्छ कि जातीय उत्पिडन दलितमा मात्रै छ तर त्यो होइन । दक्षिण एसियाको जात व्यवस्था भित्र जातका आधारमा र जात भित्र पनि ठुलो देखि सानो क्रमशः तह–तह छुट्याइएको हुन्छ । सोहि उचनिचमय व्यवस्था भित्र प्रत्येक जात र त्यस भित्रका तह–तहले आफु भन्दा सानो ठान्ने माथि उत्पिडन गर्ने गर्दछन् । सोहि उत्पिडनलाई जातिय उत्पिडन भनिन्छ । तसर्थ प्रत्येक जात–जातमा र जात भित्र पनि एकअर्कामा गहिरो फुट सिर्जना गर्नु नै दक्षिण एसियाली जात व्यवस्थाको मुल राजनिति हो ।

सोहि दक्षिण एसियाली जात व्यवस्था भित्र सबैभन्दा पिँधमा परेका समुदायहरुको संगठित स्वरुप नै दलित समुदाय हो । त्यसैले दक्षिण एसियामा जातका आधारमा सबैभन्दा वेशि उत्पिडन पनि दलित समुदायले नै खेप्ने गर्दछन् । दलित समुदाय माथि जातका आधारमा छुवाछुत मात्र पनि होइन बरु सामाजिक, आर्थिक र राजनैतिक प्रक्रियाबाट नै दमन र वहिष्करणमा पर्ने गर्दछन् । तर अहिले सोहि अनुरुप कानुनको निर्माण, उत्पिडन गर्ने ठाँउहरुको अवस्थामा परिवर्तन तथा सामाजिक आन्दोलनका परिवर्तनकारी कदमहरुका कारण उत्पिडनका समस्याहरु कुजिँएका छन् । यस्तो अवस्थामा पनि दलित माथिको उत्पिडन उत्रिन परेको खण्डमा कहिलेकाही जोडदार रुपमा उत्रिने गर्दछन् । यस्ता उत्पिडन सचेत वा अचेत दुवै अवस्थामा हुने गर्दछन् । किनभने हाम्रो मष्तिस्कमा अनेकौ पुर्वाग्रहहरु जात व्यवस्थाले सानै देखि भरिदिएको हुन्छन् । सोहि कारण माथिल्लो जात भनिनेले विभेद गर्ने मनसाय नहुँदा नहुँदै पनि कतिपय अवस्थामा थाहै नपाई दलित माथि विभेद गर्ने गर्दछन् । विभेद प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा हुने गर्दछन् ।

प्रत्यक्ष रुपमा तल्लो जात हो भन्ने हिसाबमा सोझै भनेर वा भौतिक रुपमा गरिने विभेदका स्वरुपहरु प्रत्यक्ष विभेद हुन् । त्यस्तै कहिलेकाहि प्रत्यक्ष रुपमा जातका आधारमा विभेद नगर्ने तर व्यवहारले विभेदको महसुस हुने पनि गर्दछ । र कहिलेकाहि भोग्नेलाई पनि थाहा नहुन सक्दछ । त्यस्ता खालका घुमाउरा तरिकाले वा नदेखिने तरिकाले भावनात्मक रुपमा गरिने विभेदलाई अप्रत्यक्ष विभेद भनेर भनिन्छ । अहिले यो सत्य हो कि विभेदको प्रवृति कुँजिदै गएर निजि सम्पतिमा, जातजातीगत साँस्कृतिक कार्यमा र अप्रत्यक्ष रुपमा प्रस्तुत हुने गर्दछन् ।

दलित उत्पिडनले समुदायमा पुर्याउने असर
जातिय उत्पिडन पहिले देखि देख्दै भोग्दै आँउदा अनि परिवर्तनका झिल्काहरुले यस्को प्रभाव कम गराउदै जाँदा अहिले सामान्य नै लाग्न सक्दछ । र उत्पिडन गर्ने समुदायलाई दलित माथिको उत्पिडन सिर्फ दलितहरुको समस्या हो भन्ने लाग्न पनि सक्दछ । यो सत्य हो कि दलित माथिको उत्पिडन मात्रात्मक रुपमा कम हुदै गइरहेको छ । तर हामि माथिल्लो स्तरमा पुग्नु भनेको भुँईतहको ससाना कुराहरु नदेख्नु होइन । बरु साना भन्दा साना कुराहरुले कति गहिरो प्रभाव पारेको छ अध्ययन गर्न सक्नु पनि हो । यसरी यो उत्पिडनलाई गहिरीएर हेर्ने हो भने एउटा सिंगो समुदायले अहिलेसम्म निरन्तर भोगिरहेको अप्रत्यक्ष रक्तपात नै हो ।

साथै कुनैपनि उत्पिडनले तत्कालिन अवस्थामा उत्पिडित समुदायलाई नै प्रभाव पार्दछ । अर्थात दलित माथिको उत्पिडनले तत्कालिन समयमा दलितलाई नै हानि नोक्सानी पुर्याउदछ । तर दिर्घकालिन र गहन रुपमा हेर्ने हो भने उत्पिडन गर्ने समुदायलाई झन् ठुलो असर परिरहेको हुन्छ । यो असर सामान्य अवस्थामा फेरि देखिने र बुझिने कुरा पनि होइन । किनभने मानिस धर्तिमा सबैभन्दा उन्नत तवरले बाँच्नका लागि अरुलाई उत्पिडन नगरी जिवन सञ्चालन गर्नुपर्दछ । जस्कालागि मानिस भित्र मानवलाई मानवकै रुपमा हेर्ने दृष्टिकोण अनि समान व्यवहार हुनुपर्दछ । जस्लाई मानवता वा मानवियता पनि भनिन्छ । तर जब कुनै मानवले अर्को मानवमाथि उत्पिडन गर्दछ भने उस्को मानवियता स्वतः च्युत हुनपुग्दछ । यदि मानिसमा मानवियता च्युत हुन्छ भने उ यो धर्तिमा उन्नत वा उचित वा सहि ढंगले बाँच्नुपर्ने उस्को जिवनको महत्वपुर्ण हिस्सा नै धरापमा पर्दछ । र मानव भएर बाँच्नुको औचित्य नै समाप्त हुन्छ ।

त्यस्तै एउटै समाजमा बसिसकेपछि एकअर्कामा कुनै न कुनै ढंगले सरसहयोग र सहकार्यको आवश्यकता पर्दछ । तर जब एकअर्कामा समान हुदैनन्, एक अर्कामा सहयोग र सहकार्यमा पनि कुनै न कुनै ढंगले फाटो वा कमि आइहाल्छ । जस्ले सम्बन्ध पनि मजबुत हुन दिदैन । साथै समाज भनेको दुवै समुदायको साझा थलो हो । यदि कुनै समुदाय माथि रहन्छ र अर्को समुदाय तल रहन्छ भने सामुदायिक विकासमा समान न्यायिक सहभागिता रहदैन र सामुदायिक विकास पनि तुलनात्मक रुपमा अगाडि बढ्न सक्दैन ।

र, महत्वपुर्ण कुरा दक्षिण एसियाली जात व्यवस्थामा उत्पिडित समुदायहरु एक जुट भएर शासक वर्ग सँग लड्नुपर्ने तर ‘त यो जात, म यो जात’ भनेर एकापसमा लडिरहेको हामि प्रशस्त देख्न सक्दछौ । फलस्वरुप शासक वर्गलाई उत्पिडित वर्गहरुको फुटका बिच आफ्नो शासन चलाउन निक्कै फाइदा पुग्ने गर्दछ । अन्ततः मुख्य सार भनेको दक्षिण एसियाली जात व्यवस्थामा आधारित जातिय उत्पिडनले उत्पिडन भोग्नेको मात्र होइन उत्पिडन गर्ने समुदायको प्रगति पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवरुद्ध हुने गर्दछ ।

स्थानिय स्तरमा प्रतिनिधि भ्रमहरुको लेखाजोखा

दलितहरुमा विभेद पहिलेको भन्दा धेरै कम छ र यो आफै हट्दै जान्छ ।

अहिले क्रमिक रुपमा सुधार हुँदै आएको यो सत्य हो । तर हामिले निजि सम्पतिमा भएको प्रगति, व्यक्तिगत अधिकारको उठान र सार्वजनिक स्थलका परिदृष्यलाई मात्र हेरेर हुदैन । हाम्रो जस्तो जात व्यवस्थामा आधारित समाजमा अहिलेको समयमा फरक फरक समुदाय वा जात बिच तुलना गरेर पनि चिन्तन गर्नुपर्ने समय हो । यस्तो अवस्थामा हामिले भन्न त भनिएला दलितहरु हामि भन्दा धनि छन् । तर दलित धनि हुने परिस्थिति जात व्यवस्थाबाट सिर्जना भएको विशेषाधिकारले प्राप्त भएको होइन । एक दुई दलित गलत होलान् तर यस्तो परिस्थिति त उनिहरुको अहिलेको अटुट श्रमले सिर्जना भएको हो । यो गलत हुँदा पनि होइन । तर दलितहरु धनि हुँदैमा जातिय उत्पिडन हट्छ त ? दक्षिण एसियाको जात व्यवस्था र समग्र पुँजिवादि व्यवस्था भित्र तमाम दलित धनि हुने कुरा पनि हुदैन र धनि हुदैमा उत्पिडन हट्ने कुरा पनि होइन । तसर्थ छन्त्याल र दलितबिच जातका आधारमा सम्मानपुर्वक को बाँच्न पाएको छ ? यो तथ्यलाई हामिले अहिलेको समयमा कम आँक्न मिल्दैन । साथै समय आएपछि आफै हट्ने भन्ने नै हुदैन । परिवर्तनका लागि सचेत प्रयत्न गरेर नयाँ र क्रान्तिकारी परिस्थितिको सिर्जना गर्ने कार्य मानिस आफैले गर्नुपर्दछ ।

दलितहरुले छन्त्याललाई नै टाउकोमा टेक्न लागेका छन् ।
उत्पिडन कसैले कसैलाई गर्न पाइदैन । छन्त्यालले दलितलाई र दलितले छन्त्याललाई पनि । कतै कतै छन्त्याल पनि दलितको उत्पिडनमा परेको घटनाहरु छन्, जुन गलत प्रवृति हो । तर दक्षिण एसियाली जात व्यवस्थामा आधारित जातिय उत्पिडन र भर्खर माथि उल्लेख गरिएको घटना फरक फरक परिस्थितिबाट सिर्जना भएका घटनाहरु हुन् । तसर्थ यहि तर्कलाई लिएर जातिय उत्पिडनको मुद्धालाई कमजोर बनाउन पाइदैन । र यस्तो विचार कहिलेकाहि ‘दलितहरुलाई हामि भन्दा माथि जान दिनुहुन्न है’ भन्ने हिसाबले छन्त्याल समुदायमा उठ्ने पनि गर्दछन् । जो पुरानो जात व्यवस्थावादी सोचकै उपज हो र गलत प्रवृति हो ।

संस्कार फरक फरक भएकोले विभेद जस्तो देखिएको हो ।
यो कुरा सत्य हो कि जन्म देखि मृत्यु सम्मका संस्कारगत प्रक्रिया समुदाय अन्र्तगत फरक फरक हुन सक्दछन् । र आ–आफ्नै तरिकाले आफ्ना संस्कारको पालना गर्न पाउदछन् । तर जब दलितलाई आफ्नो संस्कारमा सामेल गराइन्छ वा उनिहरुको संस्कारमा हामि सामेल हुन्छौ त्यतिबेला हामिले उनिहरुलाई भिन्न तवरले हेर्ने कार्य बन्द गर्नुपर्दछ । त्यसैले ति उत्पिडनकारी संस्कारगत प्रक्रियाहरुलाई हटाउने वा परिवर्तन गर्ने चेष्टा गर्नैपर्दछ । जस्तैः छन्त्यालहरुको पुजा गर्दा छन्त्यालकै संस्कारबाट गरेता पनि दलित सामेल भएका छन् भने दलितले पनि सँगै पुजा गर्ने र दुवै समुदायले सहभोज गर्ने वातावरणको सिर्जना गर्नैपर्दछ ।

धर्म परिवर्तन गरेर जातिय उत्पिडनको अन्त्य हुन्छ ।
धर्म परिवर्तन गरे पनि हिन्दु जात व्यवस्थामा आधारित समुदायमा दलित भन्ने पहिचान हट्छ त ? हट्दैन । बरु झनै जातिय उत्पिडन मात्र होइन धार्मिक उत्पिडन पनि थपिन पुग्दछ । किनभने हिन्दु सामन्तवादमा आधारित समाज व्यवस्थाले अन्य धर्मलाई समान रुपमा हेर्दै हेर्दैन । र अर्को कुरा सम्पुर्ण धर्म भित्र सकारात्मक पक्ष पनि हुन्छन् र नकारात्मक पक्ष पनि हुन्छन् । तसर्थ धर्म भित्रका कमजोरीहरु हटाउने चेष्टा गर्नुपर्दछ । किनभने धर्म भित्र संस्कृति पर्दछ र संस्कृति अन्र्तगत औषधि विज्ञान, रितिरिवाज, चालचलन, प्रविधि, कला, साहित्य, संगित सबै सबै मानव सभ्यताका महत्वपुर्ण जगहरु पर्दछन् । जो उक्त समुदायको विशिष्टता हुन् । र जातिय उत्पिडनको मुल कारण हिन्दु धर्म भित्रको सिर्फ जात व्यवस्था हो, समग्र हिन्दु धर्म हुदै होइन ।

घर भित्र पस्न नदिनु व्यक्तिगत अधिकारको कुरा हो । हाम्रो घर भित्र पसेर जातीय उत्पिडन अन्त्य हुन्छ ?
पहिलोः घर भित्र पसेर उनिहरुको अधिकार खोस्ने कुरा हुदै होइन । दोश्रोः घर भित्र जहिले पायो त्यति नै बेला पस्न पाउने भन्ने नि होइन । तर आवश्यकता पर्दा पस्ने कुरा हो । तेश्रोः घर भित्र पसेर दलितको मुद्धा पुर्ण रुपमा समाधान हुने पनी होइन । खासमा दलित समुदाय छन्त्याल समुदायको घर भित्र पस्न पाउनुपर्छ भन्नुको अर्थ दुवै समुदायलाई समान व्यवहार होस् भनेको पो हो ।

एउटा व्यक्तिले अर्को व्यक्तिलाई घर भित्र पस्न नदिनु व्यक्तिगत अधिकार हो । तर एउटा खास समुदायले अर्को खास सिंगो समुदायलाई नै घर भित्र पस्न नदिनु व्यक्तिगत अधिकारको कुरा होइन, सोझै बुझिने कुरा हो । अनि यस्ले दलितहरुका सम्पुर्ण मुद्धा हल गर्दैन भनेर अझै पाखा लाग्ने ? दलितहरु छन्त्यालहरुको घर भित्र पस्दा के बिग्रन्छ ? आजको युगमा आफ्नै मिल्ने छिमेकिको घर भित्र जातकै आधारमा पस्न नपाउने कुरा त मिल्दै मिल्दैन नि । तसर्थ यो उत्पिडनलाई व्यक्तिगत अधिकारमा रुल्मल्याउन मिल्दैन ।

जातिय कुराले त जातिय द्वन्द ल्याउँछ । जातीय उत्पिडनको अन्त्यले दलितका सबै समस्याको हल हुदैन ।
सहि कुराको बारेमा पहलकदमी गर्दा द्वन्द हुन्छ नै । किनभने समाजमा सकारात्मक र नकारात्मक चेतना बिच टकराव नभई समाज अगाडि बढ्नै सक्दैन । जस्लाई द्वन्द भनिन्छ । साथै उत्पिडित समुदायले द्वन्द नगरि सम्झौता गर्नाले पुर्णरुपमा अधिकार प्राप्त गर्नै सक्दैनन् । सहि कुराका लागि पो हुनुपर्यो त द्वन्द । उत्पिडनलाई देखि देखि शान्त त बस्नै मिल्दैन नि । अनि ‘समाज भाडिन्छ केहि नगरौ’ भनेको त ‘जति कुटे नि सहनुपर्छ’ भनेको जस्तै कुरा होइन र ? यो त मिल्दै मिल्दैन नि । र, द्वन्दको परिस्थिति आउनुमा उत्पिडन गर्नेको मुख्य भुमिका हुन्छ । उत्पिडन भोग्नेको त उत्पिडन अन्त्यका लागि अन्तिम विकल्प हो, वा मुख्य आधार हो द्वन्द ।

सबैको शैक्षिक स्तर वा चेतनास्तरमा अभिवृद्धि नहँुदा सम्म रहिरहन्छ ।
पहिलो कुरा कस्तो खालको शिक्षा भन्ने पनि महत्वपुर्ण कुरा हुन जान्छ । साथै चेतना स्तर अभिवृद्धिका लागि प्रयास नगर्ने अनि चेतना स्तर नउकास्दा सम्म हुदैन भनेर बसिरहने प्रवृत्ति पनि खतरनाक छ । त्यसपछि चेतना मात्रै भएर पनि हुदैन । त्यो समग्र चेतनाले संगठित सबैको शैक्षिक स्तर वा चेतनास्तरमा अभिवृद्धि नहँुदा सम्म रहिरहन्छ ।

पहिलो कुरा कस्तो खालको शिक्षा भन्ने पनि महत्वपुर्ण कुरा हुन जान्छ । साथै चेतना स्तर अभिवृद्धिका लागि प्रयास नगर्ने अनि चेतना स्तर नउकास्दा सम्म हुदैन भनेर बसिरहने प्रवृत्ति पनि खतरनाक छ । त्यसपछि चेतना मात्रै भएर पनि हुदैन । त्यो समग्र चेतनाले संगठित भई संघर्षको स्वरुप लिन्छ कि लिदैन, यदि संघर्षको स्वरुपमा आए पनि व्यवस्थाको जग परिवर्तन गर्ने चेष्टा गर्छ कि गर्दैन भन्ने कुरा सबैभन्दा महत्वपुर्ण हुन जान्छ । किनभने शासक वर्गमा जति चेतना भएपनि आफुले लिनसक्ने फाइदा लिन पुराना नचाहिने कुरा पनि अँगाल्छ अँगाल्छ । अर्थात जातिय उत्पिडन सम्बन्धि जति शिक्षा प्राप्त गरे पनि यो गाँउमा हालिमुहालि गर्नु मेरो जातको अधिकारको कुरा हो भन्ने त पर्ने नै गर्दछ शासक समुदायलाई । र यस्तो अवस्थामा चेतना माथिको प्रतिगमन सबैभन्दा खतरनाक कुरा हो । बुझ्नुपर्ने कुरा यो हो कि अहिले दलितलाई हेप्न हुन्न भन्ने कुरा सबैलाई थाहा छ । अनि हामिमा सामान्य चेतना पनि नभएको हो त दलित उत्पिडन सम्बन्धि ? होइन नि । बरु अहिले आधारभुत चेतना त भएको तर ति समग्र चेतनाहरु व्यवस्था परिवर्तन गर्ने स्तरको विद्रोहको स्वरुपमा नउठेको अवस्था हो । र दलित उत्पिडन विरुद्धको चेतना माथि प्रतिगमनको समय पनि हो ।

दलित भित्र नै समस्या छ । कतिपय अवस्थामा उनिहरु कै कारणले माथि उठ्न सकेका छैनन् ।
हो दलित समुदाय भित्र अनेक समस्याहरु छन् । छन्त्याल समुदाय भित्र पनि अनेक समस्याहरु नभएका पनि होइनन् । तर दलित भित्र विभिन्न समस्याहरु रहिरहेका हुनाले जातिय उत्पिडन अन्त्य नभएको भने होइन । र दलित भित्र नै समस्या छ भनेर जातिय उत्पिडन गर्न पनि मिल्दैन । बरु सबैभन्दा पहिला जातकै आधारमा गरिने उत्पिडनको अन्त्य गरि सदियौ देखिको दुई समुदाय बिचको गहिरो खाडल पुर्नुपर्दछ । त्यसपछि सहकार्य र आपसि सहयोगले बाँकि रहेका एकअर्काका समस्याहरुको निराकरण गर्न तर्फ अग्रसर हुनुपर्दछ ।

जहिले पनि दलितलाई हेपे भनेर छन्त्यालहरुलाई नराम्रो देखाइन्छ, किन ?
दलित माथिका जातिय उत्पिडनमा छन्त्यालहरु सहभागी भएका छन् र अहिले पनि हुन्छन् । यो स्विकार्नु पर्दछ । जस्को मुख्य कारण छन्त्यालहरु होइनन्, दक्षिण एसियाली जात व्यवस्था हो । किनभने जात व्यवस्थाले छन्त्याललाई दलित माथि उत्पिडन गर्नुपर्दछ भनेर प्रशिक्षण गराउने गर्दछ । तसर्थ दलित माथिको उत्पिडन समग्र जात व्यवस्थाबाट सिर्जित कुरा हो । एउटा दुईटा छन्त्यालको कुरा होइन । अर्को कुरा छन्त्यालहरु पनि जात व्यवस्थाबाट सिर्जित जातिय उत्पिडनको सिकार भएका हुन्छन् । किनभने छन्त्यालहरुलाई बाहुन, क्षेत्रि र जनजाति भित्रका छन्त्याल भन्दा ठुला भनिने जातले दलितलाई जस्तै उत्पिडन नै गर्ने गर्दछन् । तसर्थ समग्र जात व्यवस्थासँग लड्न छन्त्याल र दलित मात्र होइन सबै उत्पिडित समुदाय एकत्रित हुनुपर्छ । तर एकापसमा भएको उत्पिडनको अन्त्य नगरी संगठित कसरी हुन सकिन्छ ? सकिदैन नि । अर्को कुरा कसैलाई उत्पिडन गर्नु अमानविय कार्य नै हो । तसर्थ दलितको मुक्तिको सवाल छन्त्यालहरुलाई नराम्रो देखाउन होइन उनिहरुको कमजोरी देखाउन हो । ताकि उनिहरु आफ्नो कमजोरी हटाउन सकुन् । र अब दलित मुक्तिको सवाल छन्त्यालको पनि मुक्तिको सवाल हो भनेर बुझ्नु जरुरी छ ।

बुढापाकाहरुले मान्दैनन्, एकदुई पुस्ता पछि सहज हुन्छ ।
यो भनाईको मुल सार दुई ओटा छ । एक ः चेतनास्तर वृद्धि भएपछि हुन्छ । दुई ः समय सँगसँगै आफै कम हुदै जान्छ । जस्को बारेमा माथि नै छलफल भईसकेको छ, धेरै छलफल गर्नुपर्दैन । तर यस्मा केहि कुरा थप गर्नुपर्ने भने छ । पाकाहरुले अलि वेशि नमान्नु यो सत्य हो । किनभने धेरै उमेर पुगेका व्यक्तिहरुमा केहि वेशि पुर्वाग्रह हुन सक्दछ । तर समाजमा मुल हिस्सा वृद्धको छैन बरु मुल हिस्सा युवा र वयस्कको छ । र दलित मुक्तिको कुरामा सोहि युवा र वयस्कको छाति किन पोल्छ ? तसर्थ यो वृद्धमा मात्र अड्किएको कुरा होइन । र समाजको मुल हिस्सा युवा र वयस्क मिल्ने हो भने यहाँ असम्भव पनि छैन । तसर्थ बरु यो पुरातन प्रथा जोगाउन रचिएको मुख्य फर्मुला अन्र्तगत पर्दछ । किनभने जातिय उत्पिडन हटाउन स्थानीयस्तरमा दुई कार्य गर्नु अति जरुरी छ ः स्थानियस्तरको कानुनको निर्माण र चेतनामा अभिवृद्धि । तर अफसोच समाज बदल्न हामि कसैको मृत्यु पर्खिरहेका छौ । यो गलत छ । खासमा दलित उत्पिडन अन्त्यको अर्थ वृद्धहरुको अपमान गर्नु होइन । बरु अर्को समुदाय आफु समान बन्ने कुरा हो । यो बुझाउनका लागि जनजाति भित्रका युवा र वयस्कले कति प्रयास गर्यौ त ? प्रश्न गर्नुपर्ने बेला हो यो । साथै उदाहरणका निमित्त सम्पुर्ण युवा र वयस्क मिलेर सामाजिक कार्यहरुमा अनिवार्य छन्त्याल र दलितले सहभोज गर्ने नियम बनाउने र पालना गर्न सकिन्छ नि । र महत्वपुर्ण कुरा ः समाजमा कुनै पनि नयाँ परिस्थितिले केहि समय तरंग त अवस्य ल्याँउछ । तर समाज बिस्तारै यस्तो परिस्थितिमा भिज्दै जान्छ । यो सामाजिक नियम नै हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्