सांसद गिरीद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता, फिर्ता नलिएकारबाही गर्ने समाजवादी पार्टीको चेतावनी




काठमाण्डौँ, जेठ २८
जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

नेपालको अद्यावधिक राजनीतिक नक्सालाई संविधानको अनुसुचीमा रहेको नेपालको निशान छापमा समेत समावेश गर्न सरकारले संविधान संसोधन विधेयक पेश गरिसकेको छ ।

मंगलबार सैद्धान्तिक छलफल सकिएको विधेयकमाथि संशोधन हाल्ने समय खुलेपछि सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

तर,
समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी समेत दिएका हुन् । उनले भने, ‘हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं, फिर्ता नभए पार्टीका तर्फबाट कारबाही गर्छौं ।’

गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्। उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्। त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए।

सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची-३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो। उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्