९४ गर्भवतीसहित १४८ जना बोकेर जहाज दुबईबाट काठमाडौं आउँदै



काठमाडौ। संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर्ड विमानमार्फत् १४८ जना नेपाली काठमाडौं आउँदै छन् ।

उनीहरुलाई नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाजले काठमाडौं ल्याउँदै छ । फर्किनेमा १ सय १ जना महिला र ४७ जना पुरुष रहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । जसमा ९४ जना गर्भवती छन् ।

अरु १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेको दूतावासले जानकारी दिएको छ । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै रहेको जनाइएको छ ।

उक्त विमानले एक जनाको शव पनि ल्याउँदै गरेको छ । गत चैत २८ मा यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव रहेको बताइएको छ ।

सर्वोच्च अदालतले विदेशमा समस्या परेका श्रमिकलाई सरकारी खर्चमा उद्धार गर्न आदेश दिएपनि यो विमानमा फर्कँदै गरेकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात् करिब ४० हजार रुयैयाँ तिरेर टिकट काटेको जनाइएको छ ।

यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सले अर्को उडान असार ७ गते आइतबार गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्