चौरजहारी घटना : संसदीय समितिले थाल्यो सरोकार पक्षसँग छफफल



रुकुम पश्चिम । चौरजहारी नगरपालिका-८, सोतीमा भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको संसदीय समितिले जिल्लाका सरोकार पक्षसँग भेटघाट तथा छलफल गरेको छ । घटनाको छानबिनका लागि सदरमुकाम मुसीकोट पुगेको टोलीले जिल्लाका राजनीतिक दल, अधिकारकर्मी, पत्रकारलगायतसँग बिहीबार छलफल गरेको हो ।

समितिले गत जेठ १० मा छजनाको मृत्यु भएको सोती घटनाका सम्भावित कारण, त्यसले उब्जाएको परिस्थितिलगायत घटनासंँग सम्बन्धित समसामयिक विषयवस्तुमा जिल्लास्थित सरोकार भएकाहरुको विचार एवं राय बुझ्नाका साथै सल्लाहसुझावसमेत लिएको छ । सरोकार पक्षले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएको थियो भने समितिले यस्ता घटना हुन नदिनका लागि सरकारलाई आवश्यक सुझाव दिनुपर्नेमा जोड दिएको थियो ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा रहेको समितिका सबै सदस्य सम्मिलित टोली जाजरकोट हुँदै घटनास्थल सोती गाउँ पुगेर सदरमुकाम मुसीकोट पुगेको हो । टोलीले जाजरकोटमा पीडित परिवारसंँग भेट गर्नाका साथै त्यहाँका सुरक्षा निकायलगायत सरोकार पक्षसँग पनि छलफल गरेको थियो । त्यसपछि टोलीले घटनास्थल सोती गाउँमा पुगेर घटनाको स्थलगत अवलोकन तथा स्थानीयवासीसंँग घटनाका बारेमा जानकारी लिएको थियो ।

सोती घटनाको छानबिनका लागि प्रतिनिभिसभाले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय विशेष छानबिन समिति गठन गरेको छ । समितिका सदस्य एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुुन्के, प्रकाश रसाइली, विमला विक, महेश्वरजङ्ग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादवलगायतको टोली घटनाको छानबिनका क्रममा रुकुम पश्चिममा छ ।

यसअघि घटनाको छानबिनका लागि गठित गृह मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी काठमाडौंँ फर्केर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक गरी ६ युवाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ। तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परेका छन् भने पाँच जना फरार छन् । बिहीबार प्रतिवादीको बयान सकिएपछि आज शुक्रबारदेखि अदालतमा उनीहरुको थुनछेक बहस सुरु हुँदैछ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्