राजु सदा मृत्यु प्रकरण : प्रदेश सरकारले बनायो छानविन समिति, परिवारलाई पाँच लाख राहत



काठमाण्डौँ, असार १२
प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएका १६ वर्षीय किशोर राजु सदाको घटना छानविनका लागि प्रदेश–२ सरकारले समिति गठन गरेको छ ।

प्रदेश–२ सरकारले राजुको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो ।

समितिका सदस्यमा समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान छन् ।

समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राजुको मृत्युको सन्दर्भमा उपचारमा संलग्न चिकित्सकहरुको टोलीले मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताललाई बिहीबार बुझाइसकेको छ ।

प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल्दीप पण्डितले राजुको मृत्यु सन्दर्भमा बुझाएको प्रतिवेदनमा उनलाई इन्सेफ्लाइटिस रोगको भएको र सो रोगको उपचार नभएका कारण मृत्यु भएको उल्लेख छ ।

परिवारलाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा
राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप पाँच लाख दिइने जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्