सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित



खगेन्द्र अबस्थि,कैलाली / असार २४
प्रतिपक्ष दलहरुको अवरोधकै बिच सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट बहुमतले पारित भएको छ । प्रतिपक्षी दलहरूको नाराबाजी र बेल घेराउका बिच प्रदेश सभाले बजेट बहुमतले पारित गरेको हो ।

बुधवार २ बजेको प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले नाराबाजीका बीच संसदको कारबाही अघि बढाएका थिए। बैठकका सत्तारुढ दलका सांसद महेशदत्त जोशी बोल्ने धारणा राखे पछि अर्थमन्त्रीले आएका प्रश्नमा जवाफ दिएका थिए । त्यस लगतै बजेट बहुमतले पास भएको थियो । यस अघि पनि बुधबार बिहान ८ बजे बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आगामी आर्थिक बर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोष बाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलको प्रस्ताव पेस गरेका थिए ।

बिहान ९ बजे बसेको बैठकमा सत्तारुढ दलका सांसद दुर्गा विकले धारणा राख्दै अर्थ सम्बन्धी प्रस्ताव लाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्नुपर्ने बताइन् ।

दिउसो २ बजे तेस्रो पटक बसेको बैठकमा सत्तापक्षले बहुमतका साथ बजेट पारित गरेका हुन् । प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासीन देखिएको भन्दै असार १० गते देखि सदनमा अवरोध जारी राखे पछि संसद बैठक बारम्बार स्थगित हुदै आएको थियो।

प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेनटाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग राखेका छन्। बजेट पारित भए संगै सुदूरपश्चिम प्रदेश सभा बैठक अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्