टिकटकले २४ अर्बको कोष खोल्दै, अब टिकटक बनाउनेले पैसा पाउने



काठमाडौं / ११ साउन ।
टिकटक प्रयोगकर्ताका लागि खुसीको खबर छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्मले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ ।

छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ(२० करोड डलर)को कोष बनाउन लागेको जनाएको हो ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

विगतमा टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत मात्र आम्दानी गर्न सक्ने अवस्था थियो । टिकटकको नयाँ घोषणाले आम्दानीको आधार तयार गर्ने भएपछि प्रयोगकर्ताप्रति यसको आकर्षण कायमै रहने अपेक्षा गरिएको छ ।

टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ ।

आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्