दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो



काठमाडौं / ०७ भदौ।
चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दुबई उडेको निगमको जहाज दिउसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।

उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।

नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ।

आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरलाइन्सको जहाज बिहान १०ः१५ बजे काठमाडौँ आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालिका रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्