बा मलाई कविता लेख्नु छ !!



कविता: बा मलाई कविता लेख्नु छ !!

म हर बिहान ब्यूझिएर
मेरा यी एकजोडी आखाँले
मेरो सगरमाथामा
मेरै देशको झण्डा
फहराइरहेको हेर्दै
बा’ मलाई कविता लेख्नु छ ।

सधैं छोरीको फरिया च्यातिदा च्यातिदा
मन च्यातीएकी आमाको,
त्यो घाउँ सिलाउने सियो कहाँ पाइन्छ होला?
सुख किन्छु भनेर,
खुसी बन्दगी राख्दै हिडेका ती मेरा दाईहरु,
बन्द बाकसमा फर्किदा,
अचानक हाम्रो घरमा निभेको,
त्यो खुसीको दियो अब कहिले बल्छ होला ?
भनिदिनु न
बा’ मलाई कविता लेख्नु छ !

सडक पेटिमा नाङ्गो शरिर देखेर
आफ्नो आखाँ छोप्ने सरकार,
त्यो शरीर छोप्ने व्यवस्था कहिले मिलाउछ होला?
भनिदिनु न
बा’ मलाई कविता लेख्नु छ !

चुरा, पोते र सिन्दुरले
जिन्दगीमा खुसीको रङ्ग पोत्न
डोली चढेर,
दुर गएकी दिदीहरु,
किन आगोको मुस्लोले अनुहार पोतेर फर्कनु पर्छ?
भनिदिनु न
बा’ मलाई कविता लेख्नु छ !

सधैं दु:ख, पीडा र गुनासाका कविता लेख्दा देख्दा
थाकिसकेको मेरो कलम,
आसुँले भगिएको मेरो डायरी
अनसनमा बसेर,
तेरा दु:ख, पीडा र गुनासा हेर्दैनौं- सुन्दैनौं भन्न थाले’
त्यसले बा’ भनि दिनु न,
विकास कहिले हुन्छ?
परिवर्तन कहिले हुन्छ?
हाम्रा चेलीहरु सुरक्षित कहिले हुन्छन?
अनि हाम्रो सरकारले हाम्रो सरोकार कहिले गर्छ?
भनिदिनु न
बा’ मलाई कविता लेख्नु छ !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्