भारतका २० जिल्ला जलमग्न, १७ को मृत्यु



नयाँ दिल्ली । भारतको छत्तिसगढ, झारखण्ड र ओडिशामा भएको तीब्र वर्षाका कारण ओडिशाका थुप्रै बस्तीमा बाढी पसेको छ । महानदीका साथै अन्य थुप्रै नदीको जलस्तर बढेको छ जसका कारण राज्यका २० जिल्ला प्रभावित भएका छन् । कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पूरी र भद्रक जिल्लाको स्थिति गम्भीर छ ।

राज्य सरकारका अनुसार बाढीका कारण हालसम्म १७ को मृत्यु भइसकेको छ । यतिमात्र होइन, बालीनाली पनि नष्ट भएका छन् । बाढीले लाखौंलाई प्रभावित पारेको छ । केही स्थानमा मानिसहरुसँग पिउने पानी र खानका लागि अन्नपात केही छैन । ज्यान बचाउनका लागि परिवार घरको तटमा, नदीको बाँधमा वा राहत शिविरमा बसिरहेका छन् ।

ओडिशा सरकारका स्वतन्त्र राहत आयुक्त प्रदिपकुमार जेनाले आइतबार बेलुका भने, ‘यो बाढीमा ३ हजार २ सय ५६ गाउँ प्रभावित भएका छन् । ३४० गाउँबाट यातायात सम्पर्क पूर्णरुपमा टुटेको छ । १०७ सडकमाथि पानी बगिरहेको छ । साढे दुई लाख मानिस पानीले घेरिएका छन् ।’ राज्य सरकारको तर्फबाट राहत र उद्धारकार्य सुरु गरिएको छ । २ सय ५४ डुङ्गालाई यो काममा खटाइएको छ । यसबाहेक ४५ मोबाइल मेडिकल टिम, ४२ पशु चिकित्सा दल पनि बाढी प्रभावित इलाकामा काम गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्